गाडी चढ्नै नसक्ने ‘आकाशे’ पुल

कल्भर्ट चाहिने ठाउँमा पुल बन्दा प्रयोगविहीन

धनगढी । हुलाकी सडकअन्तर्गत कैलालीको कैलारी गाउँपालिका- ५ पवेरास्थित कटैनी खोलामा बनेको पुल सवारीमैत्री नभएको देखिएको छ । कल्भर्ट आवश्यक हुने स्थानमा पुल बनेको र त्यसमा पनि आवश्यकभन्दा बढी उचाइमा बन्दा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

पुलको उचाइ जमिनको सतहभन्दा झण्डै तीन मिटर र खोलाको सतहभन्दा साढे चार मिटर उचाइमा छ ।

खोलामा पुल बनेपनि अधिकांश सवारी साधन खोलाकै बाटो भएर वारपार गर्छन् । वर्षात्को बेला बाहेक खोलामा पानी हुँदैन । सवारी साधान पुलभन्दा पनि खोला हुँदै आवतजावत गर्छन् । अहिले बर्खामा भने खोलामा पानी हुँदा पुल आवश्यक हुन्छ । तर आवश्यकभन्दा बढी उचाइ भएको पुलमा सवारी गुडाउन सहज छैन ।

सो क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आउने गोरु गाढा अग्लो पुलमा चढ्नै सक्दैनन् । लोड भएका अन्य सवारी साधनहरू पनि सो पुल भएर चल्न सक्दैनन् । अटो रिक्सा झनै गाह्रो । निकै उचाइमा बनेको पुल चढ्न समस्या भएपछि पुलमुनिकै खोलाको बाटो हँदै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय तपराज चौधरीले बताए ।

‘सडकको सतहभन्दा धेरै उचाइमा पुल निर्माण हुँदा ट्याक्टर, साइकल, गोरुगाडालगायत सवारीसाधन पुलमा उक्लिनै मुस्किल पर्छ,’ उनले भने, ‘गोरुगाडा र सामान बोकेका रिक्सा त चढाउनै सकिन्न ।’ उनका अनुसार लोड गरिएका ट्याक्टर पनि पुलमा चढ्न समस्या हुन्छ ।

बर्खा खोलामा पानी भएका कारण मुस्किलले चढ्न सक्ने सवारी साधान बाध्यताले पुल प्रयोग गर्थे । हिउँदको समयमा भने यो पुल प्रयोगविहीन अवस्था हुने गर्छ । अझै पनि हिलो भएपनि खोलामा जानसक्ने अवस्थामा सवारी साधन खोलाकै बाटो भएर चल्ने गर्छन् । उक्त पुल हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

No description available.

पुलको उचाइअनुसार सडक उठाउने हो भने त्यहाँ भएका घरहरू सबै तल पर्छन्‚ खोला हुँदै जाने बाटो पनि अवरुद्ध हुनेछ । दुई वर्षअघि निर्माण सम्पन्न भएको पुल २२ दशमलव ८५ मिटर लामो छ । कल्भर्ट आवश्यक पर्ने सानो खोलामा पुल बनाउनु नै प्राविधिक त्रुटि भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले स्वीकार गरे ।

पुल अग्लो हुँदा प्रयोगविहीन भएको उनले बताए । उनका अनुसार स्थानीयको विरोधपछि हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुलको उचाइ घटाउन केन्द्रलाई सिफारिस गरेको थियो । तर, केन्द्रले डिजाइन परिवर्तन गर्न नमानेपछि पुरानै डिजाइनमा पुल बनेको हो ।

प्रयोगमा ल्याउन थप खर्च गरिँदै
ईन्जिनियर मडैका अनुसार सो पुलसँग सडकको ‘लेभल’ मिलाउन पुलको दुवैतिर करिब एक सय मिटर टाढाबाट सडकको उचो गर्नुपर्छ ।

यसका लागि सडक आयोजनाले काम सुरु गरिसकेको छ । पुल प्रयोगमा ल्याउन मिल्ने बनाउन थप करिब ६० लाख रुपैयाँ खर्च गरिँदैछ । पुलको दुवैतिरको साढे तीन सय मिटर लामो बाटोको उचाइ बढाउन लागिएको इन्जिनियर मडैले जानकारी दिए । उनले पुलको पूर्वतिर डेढ सय र पश्चिमतिर दुई सय मिटरसम्म सडकलाई अग्लो बनाउने कार्य अघि बढेको बताए । बर्खायाम सकिएलगत्तै बाटो अग्लो बनाउने काम सुरु हुने इन्जिनियर मडैले बताए ।

स्थानीयलाई थप सास्ती
मण्डीबजारसमेत रहेको सो ठाउँमा बग्ने खोलामा कल्भर्ट आवश्यक थियो । तर पुल त बन्यो, तर आवश्यकभन्दा धेरै अग्लो । राजमार्ग आसपासका घरभन्दा पनि माथि पुल बनेपछि चिन्तित बनेका स्थानीय थप चिन्तामा परेका छन् ।

पुल प्रयोगमा ल्याउन पुलको दुवैतिर दुई सयदेखि तीन सय मिटर दुरीसम्मको सडकको सतहमाथि उठाइने भएपछि स्थानीय थप चिन्तामा परेका हुन् । सडकको सतह उठाएर पुल प्रयोगमा आएपछि त्यहाँको सबै बस्ती सडकभन्दा मुनि पर्ने भएका छन् । सडकको दुईतिर बस्ती छ । एकतिर सानो बजार छ । पुल प्रयोगमा आएपनि स्थानीयलाई खुसी हुनुपर्ने ठाउँ नरहेको स्थानीय रामसोर कठरियाले दुखेसो पोखे । अग्लो पुल बनाउँदा सडकमा थप लागत बढ्नुका साथै मानव बस्तीलाई पनि समस्या निम्तिएको उनले बताए । सडक/पुल छेउका घरहरुभन्दा माथि सडक हुने भएपछि बाटो पनि अवरुद्ध हुने भएपछि स्थानीय चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *