पार्टी एकतामा चाँडै बाँधिन्छ : एमाले प्रवक्ता

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकता चाँडै हुने दाबी गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले भने— ‘आजको केन्द्रीय कमिटी बैठकले एउटा संकल्प गरेको छ । बैठकमा अध्यक्ष कमरेडले आफ्नो कमीकमजोरीलाई स्वीकार्दै पार्टीमा आएको खण्डमा आममाफी दिनेसमेत बताउनुभएको छ । यस अर्थमा हामी विघटित कार्यदलका साथीहरुबीच निरन्तर छलफलसमेत भइरहेको छ । अब एमाले एकता चाँडै हुन्छ ।’
यस्तै बैठकमा ब्रिफिङ्ग गर्दै अध्यक्ष केपी शर्मा ओलीले जनताको नजरमा आलोचित गतिविधि नगर्न नेता/कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने— ‘हामी एउटा संक्रमणकालीन अवस्थामा छौँ । जनताको नजरमा आलोचना हुने कुनै पनि काम नगरौँ । यसले पार्टीकै साखलाई समेत घटाउन सक्छ । हामी जनता, देश र कम्युनिष्ट आन्दोलनको लागि निसकलङ्क भएर जानुपर्छ ।’








