नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्नेगरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।
पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इन्डक्सन प्रोग्राम (परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो ।
ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन् ।
सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्यधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिनेछ ।
सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुने अस्पतालले जनाएको छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्न जनाएको छ ।
यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ ।
यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने जनाएको छ । यो अवधिमा नर्भिकको अत्यधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ ।
पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।
नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने‚ ‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’








