कांग्रेसको महाधिवेशन फेरि अनिश्चित

काठमाडाौं । कांग्रेसको १४औं महाधिवेशन फेरि अनिश्चित बनेको छ । यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार पूर्वतयारी गर्न नसकेपछि कांग्रेसको १४औं महाधिवेशन फेरि अनिश्चित बनेको हो । सबैभन्दा तल्लो तह ६,७४३ वडामा १२ साउन अर्थात् अबको चार दिनपछि एकसाथ अधिवेशन गर्ने कार्यतालिका छ । तर, त्यसका लागि मतदाताकै टुंगो लागेको छैन ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनको तयारी गरेको छैन । केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म कसरी निर्वाचन गर्ने ? भन्ने निर्वाचन निर्देशिकासमेत जारी गर्न सकेको छैन । जिल्ला–जिल्लामा निर्वाचन समितिका प्रतिनिधि पुगेर ती प्रतिनिधिले पुनः वडा–वडामा निर्वाचनको व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

तोकिएको समयमा वडा अधिवेशन गर्न नसक्ने निश्चित भइसक्दा पनि त्यसबारे पार्टीमा छलफल हुन सकेको छैन । जसका कारण महाधिवेशनको वडादेखि केन्द्रसम्मको कार्यतालिका प्रभावित बन्दैछ । कति दिन सर्ने ? कुन कुन तहको अधिवेशन सर्ने ? जस्ता प्रश्नहरुको जवाफ नपाउँदा वडा तहको अधिवेशनका लागि गाउँ–गाउँ पुगेका नेता कार्यकर्ता अन्योलमा परेका छन् । सरकार सञ्चालन, कोभिड महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारीमा भएको ढिलासुस्तीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मुखमा सरकारको नेतृत्व गर्नुपर्ने थप जिम्मेवारीको असर पनि महाधिवेशनको कार्यतालिकामा परेको छ । देउवाले पार्टीको महाधिवेशनका लागि छलफल गर्ने समय दिन सकेका छैनन् । महाधिवेशन अघि गर्नैपर्ने क्रियाशील सदस्यता र निर्वाचनका तयारीका विषयमा कांग्रेसभित्र विवादै–विवादै छ ।

कोरोना महामारीका बीच केन्द्रीय महाधिवेशन भौतिक रूपमै गर्ने वा अनलाइनमार्फत भोटिङ्गको व्यवस्था गर्ने ? भन्ने निक्र्यौल भइसकेको छैन । कतै अझैपनि महाधिवेशन नै नहुने त होइन ? भन्ने प्रश्न कार्यकर्तामाझ व्याप्त छ ।

सह–महामन्त्री डा.प्रकाशसरण महतले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पार्टीको महाधिवेशन गर्न असम्भव रहेको बताए । ‘वर्षायाम छ, क्रियाशील सदस्यताको काम सकिएको छैन । निर्वाचनको तयारी पनि भइसकेको छैन, त्यसैले अब वडा तहको अधिवेशन १२ साउनमा नहुने निश्चित त भइसक्यो,’ डा.महतले भने, ‘त्यसलाई कति समय पर धकेल्ने ? भन्नेबारे हामी छलफल गर्दैछौँ । केही दिनमै अर्को संशोधित कार्यतालिका तय हुन्छ ।’

उनले वडा तहसहित तल्ला तहको मात्रै अधिवेशन सार्ने र केन्द्रीय महाधिवेशन भने भदौमै गर्नेगरी पार्टीमा छलफल भइरहेको बताए । तर, महाधिवेशनको तिथिमिति परिवर्तन र तयारीका विषयमा पार्टीको बैठक भने बसेको छैन । सभापति देउवा प्रधानमन्त्री भएपछि गत शुक्रबार पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो । त्यसयता महाधिवेशनको पूर्वतयारी र क्रियाशीलको विवाद सुल्झाउने सम्बन्धमा सभापति देउवाले समय निकाल्न पाएका छैनन् ।

देउवाले महाधिवेशन ३० दिनभित्र लिनुपर्ने विश्वासको मत एक सातामै लिइसकेकाले अब महाधिवेशन गर्न समय निकाल्ने नेताहरु बताउँछन् । वडा तहको अधिवेशन आउन चार दिन मात्रै बाँकी हुँदा पनि क्रियाशील सदस्यतामा देखिएका विवाद सुल्झिएको छैन ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविन गरिरहेकै बेला कांग्रेस मुख्यालय सानेपामा सदस्यताको विषयलाई लिएर कार्यकर्ताले अनशन बस्ने र धर्ना जारी राखेका छन् ।

अहिले नेताहरुको ध्यान सभापति, उपसभापति र महामन्त्रीमै मात्र ध्यान गएको देखिन्छ ।

यस्तो अवस्थामा पूर्वतयारीका हिसाबले के तोकिएकै मितिमा महाधिवेशन हुन सक्ला त भन्ने प्रश्न सबैतिर खडा भएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । यो प्रश्नमाथि गत शुक्रबारको बैठकमा स्वाभाविक रूपमा छलफल भएको प्रवक्ता शर्माले बताए । ‘हामी अब महाधिवेशन सार्ने पक्षमा छैनौँ । सकेसम्म तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति सबै नेताहरूबाट व्यक्त भएको छ । त्यसका लागि बरु तल्ला तहको अधिवेशनको कार्यतालिका संशोधन गर्ने र केन्द्रीय महाधिवेशन तोकिएकै समयमा गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने ।

उनले सरकारको नेतृत्व र सरकार सञ्चालनकै विषयले भने महाधिवेशनको कार्यतालिकामा कुनै प्रभाव नपर्ने दाबी गरे । ‘सरकारको नेतृत्वमा हुने नेताहरूलाई महाधिवेशनको तयारीको भार दिइन्नँ । त्यसले गर्दा त्यसले महाधिवेशन प्रभावित हुँदैन,’ शर्माले भने ।

केन्द्रीय सदस्य महेन्द्र यादव पनि अझै आफुलाई महाधिवेशन हुन्छ भन्ने विश्वास नलागेको बताउँछन् । ‘एकै ठाउँमा सबै क्रियाशील सदस्य जम्मा भएर महाधिवेशन गर्न समस्या हुने देखिएको छ । मान्छेहरुले बाध्यता भनिरहेका छन् । तर, त्यसकालागि विकल्पहरु छन् । त्यसबारे छलफल भएको छैन । कसैले भन्ने आँट गरेको छैन । भन्यो भने विरोधी भनिदिन्छन् भन्ने डर देखिएको छ । तर, अधिवेशनभन्दा महत्वपूर्ण पार्टीका नेता कार्यकर्ताको ज्यानको सुरक्षा मुख्य कुरा हो,’ केन्द्रीय सदस्य यादवले भने, ‘अहिले नेताहरुको ध्यान सभापति, उपसभापति र महामन्त्रीमै मात्र ध्यान गएको देखिन्छ । तर, अहिलेको परिस्थिति हेर्दा मलाई चाँहि भदौमा महाधिवेशन हुन्छ जस्तो लागेको छैन ।’

सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने अहिलेसम्मको तयारीका हिसाबले तल्ला तहको अविधेशन सर्ने, तर केन्द्रीय महाधिवेशन भदौमा हुने बताए । ‘तल्ला तहको अधिवेशन सर्ने अब निश्चितजस्तै छ, त्यसको असरले केन्द्रीय महाधिवेशन पनि सर्न सक्छ,’ उनले भने, ‘तल्ला तहको अधिवेशन दुई सातासम्म सर्न सक्छ, केन्द्रीय महाधिवेशन पनि सरेर भदौ मसान्तसम्म पुग्न सक्छ । तर, भदौभन्दा पछाडि धकेल्न हुन्न भन्नेमा सभापतिज्यू अडिग हुनुहुन्छ ।’

केन्द्रीय क्रियाशील छानबिन समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि तल्ला तहको अधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भइसकेको बताउँछन् । ‘क्रियाशीलको विवाद अझै समाधान भइसकेको छैन, नौ लाख क्रियाशील सदस्यको नामावलीमा सभापतिज्यूले हस्ताक्षर गरिसकेपछि त्यसलाई लिएर निर्वाचन समिति वडा–वडामा पुग्नुपर्छ, त्यसैले अहिले तोकिएकै मितिमा तल्ला तहको अधिवेशन हुन सम्भव देखिँदैन,’ उनले भने । उनका अनुसार छानविन समितिले ७५ जिल्लाको कागजात हरेको छ । ढिलो गरी आएका कारण सप्तरी र बाराको सदस्यता छानविन भएको छैन ।

‘हामीले करिब करिब काम अन्तिम चरणमा पुर्याएका छौँ । आज वा भोलि यसको प्रतिवेदन सभापतिज्यूलाई बुझाउने तयारी भएको छ । हामीले जे गरेका छौँ, त्यो हाम्रो समितिभित्र सर्वसहमतिले निर्णय गरेका छौँ, अब बाँकी रहेका विवादहरुबारे पदाधिकारी र पूर्वपदाधिकारीहरुकै बीचमा छलफल भएर टुगो लाग्ने हो,’ समितिमा प्रवक्ता पौडेलले भने ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत १२ साउनमा वडा तहको अधिवेशन गर्ने कार्यतालिका छ । त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा क्षेत्र एवं एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ भने १ र २ भदौमा सात प्रदेशको अधिवेशन र १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *