अझै तुइनमा झुण्डिएर तर्नुपर्छ महाकाली

दार्चुला । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौंदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ ।

यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ । पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ ।

‘तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्’, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, ‘तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई । ‘

उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् ।

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो । व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर सुरु भयो, भारतले काठेपुल भत्काइदियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।

‘पटकपटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन’, स्थानीयवासी कल्यानसिंह धामीले भने । उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताए । ‘मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो’, उनले भने ।

उनले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो भने । दुम्लिङका बुढाथोकीले भने, ‘नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो । व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन । तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।’ उनका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन् । उनीहरुको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ । अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ ।

अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ
महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो ।

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन ।

यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताए । मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन ।

‘नेपालकै बाटो भएर जान पनि गाउँसम्म सडक पुगेको छैन’, उनले भने, ‘निषेधाज्ञा होस् जे भए पनि त्यही भारतीय बाटो भएर हिँड्नुपर्छ । नेपालतिर हिँडेरै जान एक दिनमा मुस्किलले गाउँ पुगिन्छ ।’ नदी तरेर जाने हो भने एक घण्टामै सदरमुकाम खलङ्गा पुगिने भएपछि सबैको सहारा त्यही तुइन बनेको उहाँको भनाइ छ ।

अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनीयर अजय यादवले भने, ‘निषेधाज्ञाका कारण निर्माणमा केही ढिलाइ भएको छ । समयमै समान पाउन नसक्दा निर्माण केही ढिला भएको हो ।’ माल र बर्तिघाटमा भने पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणमा चाहिने लट्ठा, ग्रिपलगायत सामग्री सस्पेन्शन ब्रिजले नै उपलब्ध गराउनुपर्ने हुन्छ ।

निर्माण व्यवसायी धनबहादुर कुँवरले ब्रिज डिभिजनले नै निर्माण सामग्री उपलब्ध गराउन नसक्दा निर्माण कार्य रोकिएको बताए । उनले भने, ‘हामीले ०७६ मङ्सिर ६ र पछिल्लो समय ०७८ वैशाख १५ गते समान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौँ । तर अहिलेसम्म सामान नै नदिँदा तीनचार महिनामा सकिने काम अघि बढेको छैन ।’

व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ । फाउन्डेशन पनि पुरिनथालेको छ । तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ । बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउदको भनाइ छ ।

कोरोनाका कारण समयमै सामान नआउँदा केही काम रोकिएको उनले बताए । ‘धेरैजसो काम सकिएर आवतजावत गर्न मिल्ने भएको छ’, उनले भने, ‘पूरै पुल हस्तान्तरण गर्ने गरी असोजभित्र सकिन्छ ।’ यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ । –नरेन्द्रसिँह कार्की/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *