कांग्रेसले जनपक्षीय काम गर्छ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्ने बताएका छन् ।
सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उनले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षीय काम गर्ने बताएका हुन् । नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षा गर्ने भएकाले अन्य दलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको धारणा राखे ।
उनले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताए । त्यस्तै उनले सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता वितरणमा भेदभाव भएको आरोप लगाए । उनले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्तिसमेत जनाए ।
उनले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नयाँ क्रियाशील सदस्य कांग्रेसमा नआउनेसमेत बताए कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएका थिए ।








