देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई एमालेले २४ घन्टे स्पष्टीकरण सोध्ने भएको छ । बैठकस्थल तुल्सीलाल प्रतिष्ठानबाट एक नेताले भने— ‘हो, स्पष्टीकरण सोध्नेबारे पार्टी बैठकमा छलफल भएको छ । पार्टीले २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन कमरेडहरुलाई समय दिएको छ ।’
आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले पक्षमा मतदान गरेका गरेका थिए । उनीहरुलाई २४ घन्टे स्पष्टीकण सोधिएको ती नेताले बताए ।
देउवालाई विश्वासको मत दिनेहरुमा नेता नेपालसँगै विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।
यसअघि गत शनिवार एमाले प्रवक्ता प्रदीपकुमर ज्ञवालीले भनेका थिए— ‘जसले देउवालाई विश्वासको मत दिन्छ, ऊ एमालेमा रहँदैन ।’








