महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली

भक्तपुर । कोभिड-१९ को महामारीकाबीच आन्तरिक राजश्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो ।

कार्यालयले आर्थिक वर्ष ०७७÷७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । जबकि सो वर्ष ४ अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकेले जानकारी दिए ।

उनकाअनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ । राजस्वको शीर्षकगत रुपमा यसवर्ष प्राइभेट लिमिटेड कम्पनीहरुबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यो गतवर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ ।

कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । मुल्यअभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसैगरि अन्तशुल्क पनि १२ प्रतिशतले बढेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत विकेले कर असुलीमा अपनाइएको नीतिका कारण महामारीकाबीच लक्ष्य हासिल भएको बताए । ‘हामीले नियमित रुपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाई गरेका थियौँ । त्यस्तै, करदाताहरुसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाई ग¥यौँ । जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उनले भने । हाल काठमाडौँ उपत्यकामा थुप्रै आन्तरिक राजस्व कार्यालयहरु छन् । तर, अर्थ मन्त्रालयको गणनामा भक्तपुर सानो कार्यालयको रुपमा गणना गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *