एमालेभित्र को-को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् । विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक-एक सांसदले मतदान गरेनन् ।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।

ओली सरकारमा वन तथा वातावरणमन्त्री भएका प्रेमबहादुर आलेले देउवालाई विश्वासको मत दिए । त्यस्तै तनहुँ–१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरे । माधव नेपाल पक्षका सांसदहरूले पनि देउवाको पक्षमा मत दिए । हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेमबहादुर आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन् ।

यी सबै यसअघि ओली पक्षमा थिए । उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन् । यीमध्ये केही सांसदहरू गत वैशाख २७ गते मात्रै ओली समूहमा गएका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने रहेका छन् । त्यस्तै, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री र कृष्णलाल महर्जन छन् ।

यसैगरी, विश्वासको मत दिन प्रतिनिधिसभा बैठकको सुरुमा अनुपस्थित भएको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली मतदान गर्ने समयमा भने उपस्थित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको ४ घण्टापछि ओली बैठकमा सहभागी भएका हुन् । यसअघि ओली संसद् भवनमा भए पनि बैठकमा सहभागी थिएनन् ।

विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए । दाहालले ओली प्रधानमन्त्री देउवाको शपथमा पनि नआएको उल्लेख गर्दै उनले संसद् बैठकबाट आफ्नो कुरा राख्ने आफूले अपेक्षा गरेको बताएका थिए । प्रधानमन्त्री देउवाले ओली आएको भए आफू खुसी हुने बताएका थिए ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि ओली बैठकमा गएका हुन् । उनले बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाए । देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो ।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भन्दै बाहिरिएका थिए ।

नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिए । संसद्मा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नभएको सांसद झपट रावलले बताए । आफूहरूको उद्देश्य संसद् बचाउनुभएकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद् बच्ने उद्देश्य पूरा भएको उनले बताए ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिए । यसअघि ओलीको पक्षमा उभिएको महन्थ–महतो समूह देउवाको पक्षमा उभिएपछि देउवाले विश्वासको मत पाउने पक्का भएपछि उनीहरू बैठकबाट बाहिरिएको आँकलन गरिएको थियो । पछि ओली पक्षमा रहेका सांसदले नै मतदान गरेपछि ओलीको पक्षमा एमालेभित्र ८३ सांसद मात्रै रहेको स्पष्ट भएको छ ।

रावलसँगै घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण विष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद् भवनबाट निस्किएका थिए । सांसद घनश्याम भुसालले कार्यदलमा रहेका सदस्यहरू विश्वासको मतदानमा तटस्थ बस्ने निर्णय गरेको बताए । बैठकअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अनैतिक काम भएको भन्दै राजीनामा दिएका थिए । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *