एमालेका २२ सांसदद्वारा देउवालाई विश्वासको मत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । देउवालाई विश्वासको मत दिने नेपालपक्षका सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, कल्याणी खड्का, मुकुन्द न्यौपाने र गोपाल बम‚ सरला यादव, मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, रामकुमारी झाँक्री‚ पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी र कृष्णलाल महर्जन छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । विश्वासको मत दिने ओलीपक्षीय सांसदहरूमा हिरा केसी, बिनादेवी बुढाथोकी, समिमा हुसेन, पार्वती विसुंखे, धनबहादुर बुढा, कलिला खातुन, प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, एमालेका माधवपक्षीय १४ र ओलीपक्षीय ८ सांसदले विश्वासको मत दिएका थिए ।
यसअघि सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्त्री बन्नका लागि परमादेश जारी गरेको थियो । देउवाले प्रधानमन्त्री बनेको १ महिनाभित्रमा विश्वासको मत पाइसक्नुपर्ने प्रावधानअनुसार सदनमा विश्वासको मत लिएका हुन् । योसँगै प्रधानमन्त्री देउवाले कुल सांसदको १६५ मत प्राप्त गरेका छन् ।








