कांग्रेसमा क्रियाशील सदस्यता छानविनमा धाँदली भएको भन्दै पूर्वराष्ट्रपति यादवपुत्रद्वारा अनसन

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवसहित धनुषाका तीन कांग्रेस नेता अनशन बसेका छन् । क्रियाशील सदस्यता छानविनमा धनुषाका क्षेत्र नं. १ र ४ मा क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै संविधानसभा सदस्य डा यादव, नेताहरू रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि अनशन थालेका हुन् ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको विरुद्धमा आफूहरू अनशनमा बस्नुपरेको डा यादवले बताए । उनीहरूले त्यससम्बन्धमा जिल्ला कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

१४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा अहिले क्रियाशील सदस्यता छानविनको काम चलिरहेको छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील छानविन गरेपनि अधिकांश जिल्लामा विवाद सुल्झाउनुको सट्टा विभिन्न बाहनामा क्रियाशील सदस्यताबाट वञ्चित गर्न खोजिएको भन्दै नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।

यसअघि बारा क्षेत्र नं. २ का नेताहरुले पनि केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । क्रियाशील सदस्यकै नाममा असन्तुष्टि व्यक्त गर्दैै सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसमेतको टोलीले समितिका सदस्य एवम् कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपातमै उत्रिए ।

महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यताको काम नसकिँदा कांग्रेसको महाधिवेशन अन्योलग्रस्त बनेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले छानविन समितिले सर्वसम्मत काम गर्न र विवाद भएका विषयहरू पदाधिकारी तथा पूर्वपदाधिकारीसमक्ष छलफलका लागि पेश गर्न भनेका छन् ।

छानविन समितिले अहिलेसम्म बारा र सप्तरीबाहेक ७५ जिल्लाको क्रियाशील सदस्यता छानविन गरिसकेको छ । कांग्रेसमा यसपटक क्रियाशील सदस्यको संख्या नौ लाख पुग्ने समितिको अनुमान छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =