देउवालाई मत दिनु हाम्रो कर्तव्य हो : रामकुमारी झाँक्री

काठमाडौं । विपक्षी एमाले नेतृ रामकुमारी झाँक्रीले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । झाँक्रीले फेसबूकमा लेखेकी छन्— ‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघीय संसद्का माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ, एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ ।’

प्रधानमन्त्री देउवाले आजैको सदनबाट विश्वासको मत लिँदैछन् । यद्यपि विपक्षी एमालेकै नेता भीम आचार्यले भने एमालेलाई टुक्रा पार्ने षड्यन्त्रस्वरुप आजै विश्वासको मत लिन खोजिएको आरोप लगाएका छन् । नेता आचार्यले भने— ‘आजै विश्वासको मत लिनु खोज्नु एमाले विभाजन गर्ने कुत्सित मनसायबाहेक केही पनि होइन ।’

यता संस्थापन पक्षीय एमालेले पनि विश्वासको मत नदिने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । निर्णय सुनाउँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने— ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =