संसद्को दुईवटा बैठक आजै, यस्तो छ कार्यसूची

काठमाडौं । गत असार २८ गते पुनःस्थापना भएको प्रतिनिधि सभाको पहिलो बैठक आइतबार (आज) अपराह्न ४ बजेबाट शुरु हुँदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेका थिए । त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमाले, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासम्बद्ध विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जेठ १० मा रिट दायर गराएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दियो । तत्पश्चात् सर्वोच्चले नै ७ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो । उक्त आदेशबमोजिम मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बैठक आह्वानको सिफारिस गरेको थियो । यसअनुरुप आजबाट प्रतिनिधि सभाको अधिवेशन शुरु भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाकाअनुसार आजै प्रतिनिधि सभाको दुईवटा बैठक बस्दैछ । सभामुख सापकोटाले भने— ‘आजै प्रतिनिधि सभाको दुईवटा बैठक बस्दैछ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइन्छ, यस्तै पूर्वसंविधानसभाका सदस्यहरुको निधन भएको छ उहाँहरुप्रति श्रद्धासुमन दिने कार्यक्रम छ । त्यसपछि सरकारले जारी गरेको अध्यादेशहरु प्रस्तुत हुनेछन् ।’

यस्तै आजैको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले धारा ७६ (४) को व्यवस्था अनुसार विश्वासको मत लिनेछन् । धारा ७६ (४)मा प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था । यसअनुरुप देउवाले विश्वासको मत लिने भएका हुन् । ‘दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भनेर प्रस्ताव पठाउनुभएको छ । त्यसको थप तयारी संसद् सचिवालयले गरिरहेको छ । उहाँले आजै विश्वासको मत लिँदै हुनुहुन्छ,’ सभामुख सापकोटाले भनेका छन् ।

देउवाले विश्वासको मत पाउने भएका छन् । अहिले प्रतिनिधि सभामा कायम रहेको संख्या २७१ हो भने देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ जनाको समर्थन चाहिन्छ । तर, सिधा रुपमा हेर्दा देउवाको समर्थनमा १५३ सांसद छन् । कांग्रेसकै ६१, माओवादी केन्द्रको ४८, विपक्षी एमालेको २३ र भट्टराई–यादवपक्षीय जसपाका १२ जना हस्ताक्षरकर्ता सांसदसँगै पछि थपिएका ७ जना सांसद छन् भने राष्ट्रिय जनमोर्चाको १ जना सांसद प्रधानमन्त्री देउवाको समर्थनमा देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *