शुक्रवार र ‘म्युजिक भिडिओ’को बाढी

काठमाडौं । बन्दाबन्दी नभएको बेलासम्म प्रत्येक शुक्रवार नेपाली चलचित्र प्रदर्शन हुन्थे । हप्तामा ३/४ वटासम्म चलचित्र हलमा लागेका हुन्थे । निर्माताको प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिस्पर्धा चलिरहेकै हुन्थ्यो । हलवालामाथि कसको चलचित्रलाई कति पर्दा दिने भन्ने ‘राजनीति’ चलिरहेको हुन्थ्यो । कलाकारहरू अन्तर्वार्ता र प्रदर्शनमा व्यस्त भएकै हुन्थे ।

तर, अहिले कोभिड भित्रिसकेपछि शुरु भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण हलहरु बन्द अवस्थामा छन् । तयारी चलचित्र प्रदर्शन हुन सकेका छैनन् । चलचित्र छायाङ्कन त भइरहेका छन्, रकम फ्रिज गरिरहेका छन् । प्रदर्शनको लागि तयारी अवस्थामा रहेका चलचित्र हलसम्म आउन पाएका छैनन् । करोडौं लगानी गरेर बनाएका चलचित्रको रकम फ्रिज भएको छ । बैंकको लोन बढिरहेको छ । निर्माता मारमा छन् । ‘ओटिटी प्ल्याटफर्म’ मा जाने चर्चा चलेपनि त्यसो हुन सकेको छैन । जानकार तथा समीक्षकहरू विश्लेषण गर्छन्— ‘चलचित्र क्षेत्र करिब १० वर्ष पछि धकेलिएको छ ।’

यता हल नै बन्द भएपछि हल सञ्चालकको समेत अवस्था त्यही नै छ । सिट मक्किन थालेका छन् भने हलमा झार उम्रिन थालेका छन् । हल भएको स्थान अन्य कामको प्रयोजनमा प्रयोग हुन थालिसकेका छन् ।

लगानीकर्ता डुबेका छन्, तर कलाकारको व्यस्तता भने घटेको छैन । उनीहरू म्युजिक भिडियो, सिरिज, सिरियल र विज्ञापनमासमेत व्यस्त देखिन्छन् । उनीहरूको काम नै नहुँदा पनि लगानी डुब्यो भनेर बस्नुपर्ने स्थिति छैन । तर पनि चलचित्रको कामदेखि देश विदेश भ्रमण र कार्यक्रम भने रोकिएका छन् । यति हुँदाहुँदै पनि कलाकारलाई प्राविधिक र निर्मातालाईझैँ तनाव भने छैन ।

चलचित्र मात्रै खेल्छु भनेर बसेका कलाकार पनि म्युजिक भिडियोमा पुनः फर्किएका छन् ।

नयाँ चलचित्र रिलिज हुने दिन शुक्रवार हल सुनसान त छन् । तर, मनोरञ्जन क्षेत्रको चमकधमक भने कम भएको छैन । चलचित्रका निर्देशक म्युजिक भिडियो निर्देशनमा लागेका छन् । चलचित्र मात्रै खेल्छु भनेर बसेका कलाकार पनि म्युजिक भिडियोमा पुनः फर्किएका छन् । र, निर्माताले म्युजिक भिडियो रिलिजको बार, शुक्रवार बनाउन थालेका छन् । अझ समयसमेत एकै पारेर गीत रिलिज गर्ने क्रम बढिरहेको छ ।

अघिल्लो साता शुक्रवार नाम चलेका कलाकारका करिब १० वटा म्युजिक भिडिओ सार्वजनिक भए । भिडियो सार्वजनिक गर्ने समय पनि दुई बजेपछि र ६ बजेअघि राखिएको थियो । पहिला पहिला कलाकारका चलचित्र जुधेझैँ यस पटक एकै कलाकारका म्युजिक भिडियोसमेत एकै दिन रिलिज भएको देखिन्थ्यो । पहिला अन्तर्वार्तामा हुने प्रतिस्पर्धा यसपटक फेसबूक लाइभमा भइरहेको थियो । लगानीकर्तालाई आफ्नो लगानीको माया छ । त्यसैले पहिला पहिला चलचित्रमाझैँ गीत सङ्गीतको गुणस्तरमा भन्दा पनि निर्माता चलेको अनुहारको पछि लागेका छन् । गीतको अडियो जतिसुकै कमजोर होस्, कसैलाई फरक परेको देखिँदैन । सबैजना चलेको अनुहार हुँदैमा लगानी उठ्छ भन्ने सोचमा देखिन्छन् ।

कलाकारहरू पनि दङ्ग छन् । चलचित्रको महिनौंको मेहनत र पारिश्रमिकभन्दा एक दिनको छायाङ्कन, लाखको बिटो र एकै छिनको लाइभले कलाकारहरूको भिडिओतर्फ आकर्षण बढेको हो । राजेश हमालदेखि पछिल्लो पुस्ताका कलाकारसम्मलाई भिडिओमा देखिन भ्याई –नभ्याई छ ।

अघिल्लो शुक्रवार प्रकाश सपूत अभिनित दुई भिडिओ सार्वजनिक भए । उनले सिडी विजय अधिकारीको ‘बिरानो आँगन’ र उनकै भाइ देवेन्द्र बब्लुको ‘डाँडाघरे साइली’ एकपछि अर्को गर्दै सेयर गरे । एकै दिन सार्वजनिक दुई गीतले निर्मातालाई पक्कै फाइदा पुगेन । अझ उनको अभिनयमा पनि खासै फरकपन पाइएन । पहिलाका चरित्रमाझैँ देखिन्थे प्रकाश भिडिओहरूमा ।

त्यस्तै सोही दिन सार्वजनिक टिआर गौडेलको ‘मायाले संसार चल्दैन’ गीतको भिडियोमा पुष्प खड्का, गरिमा शर्मा र प्रथम क्षेत्रीले अभिनय गरेका छन् । अडियो कमजोर रहेको उक्त गीतको भिडिओ बलियो बनाउन गौडेलले चलेका नायक पुष्पलाई लिए । पुष्पले पनि अभिनय गर्दा गीतको अडिओमा खासै ध्यान दिएनन् कि भन्ने समीक्षकहरुको मत छ । राष्ट्रिय अवार्ड विजेता नायकले त्यसको गरिमा राख्नेगरी गीत छान्नुपर्छ कि पर्दैन भन्ने बहस कमसेकम यो क्षेत्रमा चल्यो ।

त्यस्तै, यो शुक्रबार एक दर्जनभन्दा बढी गीत सार्वजनिक भए । तीज नजिकिँदै गर्दा पनि पहिला पहिलाझैँ यस वर्ष तीज गीतको बाढी भने आएको छैन । तर गीत रिलिजमा प्रतिस्पर्धा चलिरहेकै छ । २० वर्षअघि रेकर्ड गरिएको गीत ‘तिम्रो मन बदलिएछ’ लाई गायक यशकुमारले पुनः रेकर्ड गरे । हिजो मात्रै रिलिज गरिएको गीतमा मिलन नेवारको स्वर समेटिएको छ भने भिडियो आकर्षक बनाइएको छ । भिडिओ निर्देशनका लागि उनले राम्रो कन्सेप्टसहित निर्देशन गर्ने निर्देशक निकेश खड्कालाई रोजेका छन् ।

शुक्रबार नै दर्शकले मन पराएका जोडी पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको गीत समेत सार्वजनिक भयो । अर्जुन पोखरेल र दुर्गा खरेलको गीत ‘धरती आकाश’ ले पूजा र आकाशको सम्बन्ध सामान्य रहेको पनि बताएको कतपयको तर्क छ । गीत ट्रेन्डिङ्गमा परेको भन्दै अर्जुनले सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् ।

धेरै युवाको ‘क्रस’ बन्न सफल समाचार वाचक श्री पाण्डे अभिनित म्युजिक भिडियोसमेत हिजो नै सार्वजनिक भयो । श्री र पल शाहको जोडी बाँधेर सरिन पोखरेलले भिडिओ निर्देशन गरेका छन् । गीत राजनराज सिवाकोटीले गएका छन् ।

त्यस्तै मनिष श्रेष्ठको ‘ढल्के टोपी’ सहित गीत हिजो नै सार्वजनिक भएका छन् ।

भिडिओ निर्माण गर्दा हुने लगानी बढ्दो छ । चलचित्रमा झैँ पोस्टर, टिजर सार्वजनिक गरेर गीत प्रमोसन गरिन्छ । तर फेरि पनि चलचित्रमा बलियो हुनुपर्नेमा कलाकारमा खर्च गरेझैँ भिडिओमा मात्रै ध्यान दिएर अडियोतर्फ खासै ध्यान दिएको देखिँदैन । भिडियोमार्फत जबरजस्ती कथा बोलाउन निर्देशक लागि परेका छन् । चर्चित अनुहारले लगानी उठाउँछ भन्ने भ्रममा नयाँ, पुराना निर्माता छन् । तर गीतका मुख्य सर्जक लेखन, गायन र सङ्गीतको बेवास्ता हुने गरेको छ ।

समग्रमा पहिला चलचित्रको बाढी चल्ने गर्थ्यो । अहिले म्युजिक भिडियोको क्रम छ । तर मुख्य विषयमा न पहिला चलचित्र निर्माण गर्दा ध्यान दिइन्थ्यो, न त अहिले भिडियो निर्माणमा नै । बस्, आफ्नै च्यानल, शुक्रबार र चलेको अनुहार भए पुग्यो । चाहे चर्चित बनाउन बुस्ट गर्न र भ्युज किन्नु नै किन नपरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *