प्रदेश २

माओवादी मन्त्रीको शपथ : ‘शहीद’ को नाममा

जनकपुरधाम । प्रदेश नं. २ सरकारमा शनिबार माओवादी केन्द्रका दुई मन्त्री थपिएका छन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका माओवादी संसदीय दलका नेता भरतप्रसाद साहलाई प्रदेश प्रमुख राजेश अहिराज शनिबार दिउँसो मधेश भवनमा सपथ ग्रहण गराए भने राज्यमन्त्रीको जिम्मेवारी पाएकी रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ दिलाए ।

शपथको क्रममा नवनियुक्त दुवै मन्त्रीले ‘ईश्वर’ शब्दको उच्चारण गरेनन् । मन्त्री साहले ईश्वरको साटो कुनै शब्द नै उच्चारण गरेनन् भने राज्यमन्त्री कर्णले पनि ईश्वरको नाममा शपथ लिइनन् । राज्यमन्त्री कर्णले ईश्वरको साटो ‘शहीद’ को नाममा शपथ लिइनन् ।

मुख्यमन्त्री राउतले आफ्नै पार्टीका महन्थ ठाकुर समूह एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएर गत जेठ २६ मा नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराइसकेका छन् ।

मातृभाषामा शपथ लिने अडानका कारण डेढ घण्टा ढिलो
नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहणको समय दिउँसो ३ बजेका लागि निर्धारण गरिएको थियो । तर शपथ ग्रहण समारोह डेढ घण्टा अबेर शुरु भयो ।

नवनियुक्त मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । शपथकै भाषाको विषयमा कुरा नमिलेकाले शपथ ग्रहण समारोह ढिलोगरी शुरु भएको थियो ।

तर स्पष्ट कानुनको अभावका कारण मातृभाषामा नभई राष्ट्रिय भाषामै मन्त्रीहरुले शपथ लिनुपरेको थियो ।

शपथ ग्रहणलगत्तै नवनियुक्त मन्त्री साहले मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्रीद्वयले प्रदेश प्रमुख राजेश अहिराजलाई मैथिली भाषामा प्रतिकात्मक शपथको पत्रसमेत बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *