महन्थको साथ छोड्दै नेताहरु, उपेन्द्रको बैठकमा सहभागी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका ३ नेता डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपाको संसदीय दलको बैठकमा सहभागी भएका छन् । सरकार परिवर्तन भएपछि ३ नेताले ठाकुर–महतोको साथ छाड्दै भट्टराई–यादव पक्षीय बैठकमा सहभागी भएका हुन् ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको संसदीय दलको बैठकमा महन्थ पक्षका अमृता अग्रहरी, नरमाया ढकाल र रानी मण्डल सहभागी भएका छन् । बैठकस्थलबाट अमृता अग्रहरीले मकालुखबरसँग भनिन्— ‘हो हामी यहाँ बैठकमै छौँ । पार्टीको बैठक हो । अध्यक्षज्यूले बोलाउनुभएपछि हामी आयौँ । अरु नेताहरु पनि आउनुभएको छ ।’

यसअघि गत शुक्रबार (हिजो) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महन्थ पक्षको संसदीय दलको बैठक बसेको थियो । बैठकमा राजकिशोर यादव, प्रमोद साह, अग्रहरी, मण्डल, रूही नाज र ढकाल अनुपस्थित थिए । हिजो अनुपस्थित भएका सबै नेताहरु आजको संसदीय दलको बैठकमा नपुगेपनि उनीहरुले ठाकुर–महतोलाई छोडेको आकलन शुरु भएको छ ।

पछिल्लो समय ठाकुर–महतो पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा मन्त्री नबनाइएपछि यी सांसदहरू असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *