फेरि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन आजदेखि थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ लगायतमा मनसुन थप सक्रिय भएको हाे ।
सक्रिय मनसुनी वायुका कारण आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम र प्रदेश-१ भारी वर्षाको सम्भावना छ । तर, वागमती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश-१, प्रदेश-२, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वागमती, प्रदेश-२ र प्रदेश-१ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।








