सर्वोच्चमा खातीद्वारा महान्यायाधिवक्ताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीबार महान्यायाधिवक्तामा नियुक्त खातीले शुक्रबार सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नवनियुक्त महान्यायाधिवक्ता खातीलाई शपथ ग्रहण गराएका हुन् ।
गत वैशाखमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गराउने बाहेकका शपथ सर्वोच्च अदालतमै व्यवस्थापन गर्न पत्र लेखेकाले त्यसैअनुसार नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण कार्यक्रम सर्वोच्चमै तय गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
खातीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी भने उपस्थित भएकी थिइनन् ।
यसअघिका महान्यायाधिवक्ताहरु अग्नि खरेल र रमेश बडाललाई भने राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीकै उपस्थितिमा शपथ ग्रहण गराइएको थियो ।








