ओलीको रोकावटपछि रावलले भने- ‘म उपाध्यक्ष हुँ, बोल्छु’

काठमाडौं । शुक्रबार (आज) बिहान बसेको एमाले स्थायी कमिटी बैठकमा एमाले उपाध्यक्ष भीम रावलसहित घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु पनि सहभागी भए । बैठक रोक्न माग गर्दै तुल्सीलाल स्मृति भवन पुगेका विपक्षी एमाले नेताहरुले शुरुमा आफ्नो कुरा राख्ने प्रस्ताव गरे । तर, अध्यक्ष केपी शर्मा ओली बोल्न नदिने भन्दै अडिग रहे । त्यसपछि रावलले ‘मलाई पार्टीको उपाध्यक्षको हैसियतले बोल्न दिनुस्’ भनेर प्रस्ताव गरेपछि ओलीले ‘केही समय बोल्नुस्’ भनेर भनेका थिए । रावलले भने— ‘हामीले हाम्रो कुरा मात्रै राख्छौँ भनेर भन्यौँ । उहाँ (ओली) मान्नुभएन । त्यसपछि मैले म पार्टीको उपाध्यक्ष हुँ, मलाई उपाध्यक्षकै हैसियतमा बोल्न दिनुस् भनेर भनेपनि बल्लबल्ल उहाँले मान्नुभयो । र मैले पार्टी कमिटीहरुको बैठक रोक्न र १० बुँदे प्रस्तावअनुसार अघि बढ्न आग्रह गरेँ ।’








