शिलान्यास गरेर पनि बन्न सकेन एकीकृत सन्थाल बस्ती

विराटनगर । मोरङको उर्लावारीमा शिलान्यास भएर पनि एकीकृत सन्थाल बस्ती शुरु हुन सकेको छैन । शिलान्यासको लामो समय भइसक्दा पनि बस्ती निर्माणको काम शिलान्यासमै सीमित भएको स्थानीयको भनाइ छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको एकीकृत सन्थाल बस्ती निर्माण शुरु हुन नसकेको हो । गतफागुन १८ गते तामझामका साथ मन्त्रीहरूसहित पुगेका निवर्तमान प्रधानमन्त्री ओलीले बस्तीको शिलान्यास गरेका थिए । बस्तीमा चिटिक्क परेका घर बनाएर सन्थाल समुदायलाई राख्ने बताएका ओलीले भाषण गरेको ५ महिना पुग्नै लाग्दासमेत अझै भवन बन्ने सुरसार देखिएको छैन ।

कस्तो बन्छ बस्ती ?
बस्ती निर्माणस्थल रहेको रातो होली खेल्सीको उत्तर-दक्षिण क्षेत्रफलमा फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्गमिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने भनिएको थियो ।

एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण गर्ने योजना समावेश गरिएको छ । सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गरी चाँडै हस्तान्तरण गर्ने पूर्वप्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए ।

शहरी विकास मन्त्रालयको गुरू योजनामा निर्माण सुरु गरिने भनिएको निर्माणस्थलमा शिलान्यासयता कोही पनि पुगेका छैनन् । निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गाको विवाद नसुल्झाई हतार हतार शिलान्यास गरिएकाले काम अगाडि बढ्न नसकेको हो ।

सन्थाल एकीकृत बस्तीको स्केच
सन्थाल एकीकृत बस्तीको स्केच

ऐलानी जग्गा भएपनि वर्षौंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै शिलान्यासकै बेला स्थानीयले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा ठेक्का लागेपनि बस्ती निर्माणको काम अघि बढ्न नसकेको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।

प्राविधिक समस्याका कारण निर्माण गर्न लागिएको नमूना बस्तीको काम शुरु हुन नसकेको उनले बताए । ‘ठेक्काको विषयमा केही समस्या देखिएको छ,’ फागोले भने, ‘त्यहाँको बस्तीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले काम चाँडो हुन सकेको छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा निर्माण गर्न लागिएको उक्त बस्तीमा १ सय ३२ घर निर्माण गर्ने योजना समेटिएको छ । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिको निर्माण गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =