युवा लक्षित स्टार्टअप एन्ड इनोभेसन शुरु

विराटनगर । उद्योग संगठन मोरङले नयाँ व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गरी स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ । संगठनले उद्यमशीलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरू, वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसायहरूको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले साउन १ गतेदेखि यो कार्यक्रम शुरु गर्न लागेको हो ।

संगठनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमको बारेमा जानकारी दिँदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले युवाहरुको नविनतम् सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायिक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

संगठनले महत्वकांक्षी योजनाका रुपमा स्टार्टअप तथा ईनोभेसन कार्यक्रमलाई प्रारम्भ गरेको बताए । संचालनमा रहेका उद्योग/व्यवसाय प्रवर्द्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत संगठनको रहेकाले यो कार्यक्रम सफल हुने दाबी गरे ।

स्टार्टअप एन्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले १८ महिना अवधी रहने कार्यक्रममा प्रदेश १ भित्रका नविन व्यवसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका बढीमा (२ वर्षअघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नवीन उद्यमहरू सहभागी हुन सक्ने जानकारी दिए ।

‘नविन व्यवसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका पहिचान गरिनेछ,’ उनले भने, ‘स्थानीय कच्चा पदार्थमा अधारित र कृषि तथा कृषिजन्य व्यवसायको श्रृङ्खलाभित्र पर्ने उद्यम व्यवसायलाई विशेष ग्राह्यता दिइनेगर‍ी प्राथमिकता निर्धारण गरिएको छ ।’

नमूना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनौट गरी निःशुल्क सेवा उपलब्ध गराइनेछ । कार्यक्रम अन्तर्गत छनौट भएका स्टार्टअप व्यवसायहरुलाई व्यवसायिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दर्ता, कानुनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्रान्डिङ गर्ने तयारी छ ।

त्यस्तै लेखा व्यवस्थापन, कर प्रशासन, मानव संशाधन तथा जिन्सी व्यवस्थापनलगायतका व्यवस्थापकीय विषयहरूका साथै व्यवसायिक योजनाअनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरूमा मेन्टरसीप गरिने जनाइएको छ । त्यस्तै कोचिङ तथा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकहरूसँग नेटवर्क तथा सञ्जालीकरण, वित्तीय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय एवं सहजीकरण र बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी विषयमा परामर्श सेवा उपलब्ध गराइने संगठनले जनाएको छ।

छनौट भएका स्टार्टअपको व्यवसायको प्रकृतिअनुसार अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैरसरकारी क्षेत्र तथा निजी क्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परीक्षण केन्द्रहरुसँग समन्वय गरिने पनि भनिएको छ ।

अनुसन्धान तथा विज्ञताका लागि पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, अन्तरप्रेरणा प्रालिलगायतका संस्थाहरूसँग सहकार्य गरिएको छ, प्याकुरेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट नविल बैंक लिमिटेडसँग साझेदारी गरिएको छ, नबिल बैंक लिमिटेडले हालै शुरुवात गरेको दिगो बैंकिङ कार्यक्रमका माध्यमबाट स्टार्टअप व्यवसाय उद्यमीहरुलाई कर्जा प्रवाहमा मद्दत गर्नेछ ।’

स्टार्टअप व्यवसायको प्रवर्द्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्थाहरू एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश १ को नमूनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाहरूको दिगो इकोसिस्टमको जग बसाल्ने लक्ष्यका साथ शुरुवात गरिएको यो कार्यक्रमको कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, स्थानीय सरकार विराटनगर महानगरपालिकासँग सहकार्यको प्रक्रिया अघि बढेको छ ।

कार्यक्रमको तयारीका क्रममा विभिन्न सरोकारवाला पक्षहरू, साझेदार संस्थाहरू, मेन्टर तथा परामर्शदाताहरू, बैंक तथा वित्तीय क्षेत्र एवं प्रदेश र स्थानीय सरकारसँग प्रारम्भिक परामर्श बैठकहरू आयोजना भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *