बालकोटको बार्दलीमा ‘बा’ : माधव नेपाललाई पार्टीमा ठाउँ छैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी एमालेलाई पार्टीमा ठाउँ नभएको बताएका छन् । बुधबार (आज) सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले यस्तो बताएका हुन् । ‘माधव नेपाललाई पार्टीमा ठाउँ छैन,’ सयौं समर्थकका बीच घरको बार्दलीबाट ओली भने— ‘लाजशरम पचेकाका कारण यो सबै भएको हो ।

राष्ट्रिय युवा संघ नेपालले ‘स्कर्टिङ्ग’ गरेर बालकोट पुर्याएका ओलीले सर्वोच्च अदालतको फैसलाप्रति खेद जनाए । ‘अदालतको कहीँ नभएको नजिर अनि लाज पचाएका नेताहरुको गर्नाले सबै भयो,’ ओलीले भनेका छन् । आफूलाई अकारण हटाइएको ओलीको जिकिर थियो  ‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन,’ ओलीले भने— ‘काम गर्न नसकेर होइन । देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर कुनै मूल्यांकनको आधारमा होइन, असंवैधानिक फैसलाबाट जनादेशविपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भयो । यो खासमा स्वीकार्य होइन ।’

सर्वोच्च अदालतले परमादेश दिँदै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि ओलीले आज बालुवाटार छाडेका हुन् । ०७४ फागुन ३ गते देशको प्रधानमन्त्री बनेका ओली करिब ४१ महिना प्रधानमन्त्री पदमा रहे । केही राम्रा कामको थालनी गरेपनि जनअपेक्षाअनुरुप काम गर्न नसकेको भनि ओलीको आलोचना सुरुवाती समयबाटै भयो ।

५ महिनाको अवधिमा दुईपटक संसद् विघटन गरेका ओलीविरद्ध कांग्रेस, माओवादी, विपक्षी एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मोर्चाबन्दी बनेका थिए । गत जेठ ८ गते मध्यराति दोस्रो पटक संसद् विघटन गरेका ओलीविरुद्ध उल्लिखित ५ दलका १४६ जना सांसदहरुले जेठ १० गते सर्वोच्चमा रिद दायर गराएका थिए । उक्त रिटमाथिको सुनुवाइको परिणाम सार्वजनिक गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *