पहिलो चरणबाट बाहिरिए १४ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणको पहिलो चरणबाट १४ जना खेलाडी बाहिरिएका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको दोस्रो चरणमा अब ३६ खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणमा पुग्ने खेलाडीको नाम सार्वजनिक गरेका हुन् । प्रशिक्षक अलमुताइरीले यसअघि विश्वकप छनोटको अन्तिम टोलीमा रहेका युवा गोलरक्षक विशाल सुनारलाई प्रारम्भिक छनोटबाटै बाहिर राखेका छन् । त्यस्तै डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का पनि दोस्रो चरणमा अटाउन सकेनन् ।

मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ, रवी पासवान र सेसेहाङ आङ्देम्बे पनि टोलीमा परेनन् । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ, सुदिल राई र शिशिर लेखी पनि पहिलो चरणबाटै बाहिरिएका छन् ।

दोस्रो चरणको छनोटमा कप्तान किरण चेम्जोङसहित, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ र अर्पण कार्की गोलरक्षकमा रहँदा फरवार्डमा आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल छन् । त्यस्तै डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द र सुमन अर्याल छन् ।

यस्तै मिडफिल्डरमा नितिन थापा, पुजन उपरकोटी, एरिक विष्ट, आयुष घलान, विशाल राई, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ छन् । मिडफिल्डर विक्रम लामाको नाम दोस्रो चरणमा रहेपनि उनी पूर्ण फिट नभएसम्म टीममा रहने छैनन् ।

बंगलादेशले यसअघि सेप्टेम्बर तेस्रो साता आयोजना हुने तय भएको साफ च्याम्पियनिसिप गर्न नसक्ने संकेत गरेपछि नेपालले आयोजनाको दाबी गरेको छ । यद्यपि सार्कको बैठकपछि मात्र प्रतियोगिता कहाँ हुने भन्ने तय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *