अमेरिकाले दिएको खोप भोलिबाट लगाइने

काठमाडौं । सरकारले कोभ्याक्समार्फत् अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप मंगलबारदेखि नै लगाइने भएको छ । अमेरिकाले दिएको जोनसन खोप अभियान भोलिबाट सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जोनसन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अतिअशक्त अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने भएको हो ।
योसँगै चीनबाट खरिद गरिएको भेरोसेल खोपको पनि अभियान शुरु हुने विभागले जनाएको छ । खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिमा कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी, विश्वविद्यालयका प्राध्यापक‚ शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने सबै नेपालीलाई भेरोसेल खोप लगाइने भएको छ ।
खोप लगाउन जाँदा उमेर समूहको हकमा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र लिएर जानुपर्नेछ ।
सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालकहरुको हकमा परिचयपत्र र सवारी साधनको नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक कर्मचारीको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रको आधारमा खोप लगाइने सेवा विभागले जनाएको छ ।












Kaha lagaux khop centre pani bataidinu paryo.voli bat suru garidai xa vaner vayen ni yo samachar ali aspasta vo