इङ्ल्यान्ड समर्थकको उपद्रव : खेलअघि रंगशालमा हुलहुज्जत, हारेपछि इटाली समर्थकलाई हातपात

काठमाडौं ।  इङ्ल्यान्डका फुटबल समर्थकले फेरि ‘अभद्र’ व्यवहार प्रस्तुत गरेका छन् । युरो २०२० को फाइनल खेल शुरु हुनुअघि र भइसकेपछि पनि कतिपय समर्थकले उपद्रव दोहोर्‍याए ।

लन्डनको स्थानीय समयअनुसार आइतबार राति ८ बजेपछि सुरु भएको युरो २०२० को फाइनल सुरु हुनुअगाडिबाटै उपद्रव सुरु भएको थियो ।

९० हजार क्षमताको वेम्बली रंगशालामा ६७ हजारमात्रैको टिकट थियो । जसमा केही इटालीका समर्थक बाहेक सबै इंग्ल्यान्डका समर्थक नै थिए । टिकट नपाएका समर्थकहरुले रंगशालाको पर्खालमा लिस्नो लगाएर भित्र छिरेका थिए भने उनीहरूले रंगशालाको प्रवेशद्वार अगाडि हुलहुज्जत गरेका थिए ।

ठेलमठेल गर्दै टिकट लिएकाहरूसँगै टिकट नलिएकाहरू पनि पनि रंगशाला छिरेका थिए । बेलायती संचार माध्यम स्काई न्यूजका अनुसार एउटा बच्चालाई मुक्का हानिएको र एक पुरुषको टाउकामा पटकपटक लात्तीले हानिएको फुटेज रेकर्डमा देखिएको छ । अहिले सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएको छ ।

यस्तै इटालीसँग हारेपछि क्रुद्ध बनेका इंग्ल्यान्डका समर्थकले इटाली समर्थकलाई समेत कुटपिट गरेका छन् । उनीहरूले इटालीको झन्डा कुल्चेका छन् । इन्डिया डटकम पोर्टलले इटाली समर्थकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक गरेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत यो भिडिओ सेयर गरेका छन् ।

 

यस्तै लन्डनका विभिन्न सडकमा साइकल मोटरसाइकललगायतका तोडफोड र सडकमा फोहोरसमेत गरिएको छ । खेल शुरु हुनुअघि नै समर्थकका नग्न नृत्यदेखि सडकमा सामान र बियरका बोतल फालेर फोहर गरिएका भिडिओहरू सार्वजनिक भएका थिए ।

यतिमात्रै होइन‚ पेनाल्टी सुट आउटमा गोल नगर्ने तीनजना खेलाडीहरुलाई रंगभेदी दुर्व्यवहारसमेत गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । इंग्ल्यान्डको फुटबल संघले भने रंगभेदी दुर्व्यवहारको कडा शब्दमा विरोध गरेर दोषीलाई कारबाही गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *