विपक्षी एमालेको चुलियो असन्तुष्टि, केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । १० सदस्यीय एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव (कार्यदलको सहमति) लाई लिएर विपक्षी एमालेभित्र असन्तुष्टि चुलिएको छ । यसअघि आइतबार (हिजो) सिंहदरबारमा १४ घण्टासम्म बसेको निरन्तर कार्यदलको बैठकले पार्टीलाई पूर्ण रुपमा ०७५ जेठ २ मा पुर्याउनेलगायतका प्रस्ताव (कार्यदलमा सहमति) गरेको थियो । त्यही प्रस्तावलाई लिएर विपक्षी एमालेभित्र असन्तुष्टि चुलिएको हो ।

यसअघि विपक्षी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । संस्थापन पक्षले प्रस्ताव अनुमोदनका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिरहेको बेला विपक्षी एमालेले भने केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेता राजेन्द्र राईले भने— ‘केही असन्तुष्टि देखिएकोले बैठक बोलाइएको हो । बैठकपछि मात्रै अरु कदम चाल्ने पार्टीको मनसाय छ ।’

आइतबार राति सार्वजनिक गरिएको १० बुँदे प्रस्तावसँग तत्कालै नेता नेपालले असन्तुष्टि जनाइसकेका थिए । नेता नेपालले कार्यदलले गरेको सहमतिले अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्न नहुने भन्दै असन्तुष्टि जनाएका हुन् ।

यस्तै रामकुमारी झाँक्री, अष्टलक्ष्मी शाक्य, राजेन्द्र राईलगायतका नेताहरुले पनि अध्यक्ष ओलीसँग यथास्थितिमा कुनै सहमति नहुने अडान लिएका छन् । विपक्षी एमालेभित्र ‘प्रतिगमनको मतियारसँग झुकेको’ असन्तुष्टि चुलिएको छ ।

बैठक सोमबार (आज) दिउँसो भर्च्यूअल रुपमा बस्दैछ । गत फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णयलाई कार्यदलले स्वीकार गरेकोजस्तो देखिएकोले त्यो सबैका लागि मान्य नहुने नेता राईको भनाइ छ ।

नेतृ रामकुमारी झाँक्रीले केन्द्रीय कमिटीको बैठकपछि मात्रै १० बुँदाको बारेमा प्रष्ट धारणा आउने बताइन् । ‘अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता नलिने हामीले भनेका छौँ,’ नेता झाँक्रीले भनिन्— ‘संस्थागत धारणा बैठकपछि मात्रै आउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *