एमाले विवाद

१० बुँदे प्रस्ताव अनुमोदन गर्न ओली–नेपालबीच भेटको तयारी

नेपाल असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको हो । ओली–नेपालबीच १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनलगायतका थप विवाद निरुपणका लागि भेटवार्ता हुन लागेको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं,’ नेता नेम्वाङ्गले भने— ‘उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुङ्गो लागेको छैन । तर, भेट चाहिँ गर्नुहुन्छ ।’

गत २१ असारदेखि २७ गतेसम्म निरन्तर बसेको कार्यदलको बैठकले १० बुँदे प्रस्ताव तयार गरेको थियो । उक्त प्रस्ताव शीर्ष नेताद्वय ओली–नेपाललाई बुझाउने तयारी कार्यदलले गरेको छ । १४ घण्टासम्म बसेको कार्यदलको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए— ‘अब यो प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाउँछौँ ।’ प्रस्ताव अनुमोदनका लागि एमाले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

नेता नेपालले भने कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन् । खासगरी १० बुँदे प्रस्तावका विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेको विषयमा थप चिढिएका नेता नेपालले प्रस्तावले कुनै पनि हालतमा सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्न नहुने बताइरहेका छन् ।

एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए । सर्वोच्चको फैसलाअघि संस्थापन पक्षसँग कुनै खालको सहमति गर्न तयार नरहेका नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *