इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोको उपाधि

काठमाडौँ । इंग्ल्यान्डलाई टाइब्रेकरमा ३-२ ले हराउँदै इटालीले युरो-२०२० को उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।

इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरेका थिए । इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

मार्कस रसफोर्डको प्रहार पोलमा ठोक्किएको थियो भने जेडन सान्चो र बुकायो साकाको प्रहार इटालीका गोलरक्षक डोनारमाले रोकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा इंग्ल्यान्ड र इटालीबीचको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

इंग्ल्यान्डका लागि खेलको दोस्रो मिनेटमा नै लुक शाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने इटालीका लागि खेलको ६७औं मिनेटमा लिओनार्दो बुनुचीले बराबरी गोल गरेका थिए ।

युरोकपको इतिहासमा इटाली चौथो पटक फाइनल खेलेको हो । इटालीले यसअघि एक पटक मात्र १९६८ को युरोकप जितेको छ । त्यस्तै सन् २००० र २०१२ मा फाइनल खेल्दै उपविजेतामा चित्त बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *