महासंघ र चेम्बरद्वारा रेल सेवा सम्झौता संशोधनको स्वागत

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेका छन् । दुबै संगठनले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी सम्झौता संशोधनको स्वागत गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउने गरी सेल सेवा सम्झौताको संशोधन भएको भन्दै यसले नेपाल–भारत व्यापार तथा पारवहनलाई नयाँ आयाम दिने बताएको छ ।

विज्ञप्तीमा महासंघले भनेको छ– ‘नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकोमा महासंघ त्यसको हार्दिक स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवाद समेत दिन चाहन्छ ।’

संशोधित सम्झौताअनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्ने छन् । हाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरूवामा रेलका पूर्वाधार तयार भएपपछि रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन बिन्दु तथा द्विपक्षीय व्यापार नाकामा सहमतीका आधारमा रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउने महासंघको भनाइ छ ।

द्विपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने र समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पुर्याउने महासंघले जनाएको छ ।

संशोधित सम्झौताबाट रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समय समेत बचत हुने महासंघले जनाएको छ । संशोधित सम्झौता अनुसार यसअघि रेलको ढुवानी भाडा कोलकतामै तिर्नुपर्ने व्यवस्थामा संशोधन भई नेपाली बैंकिङ प्रणालीमार्फत रेल भाडा भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

आयात–निर्यातका क्रममा करिव १० वटा सम्बन्धित कागजात पेश गर्नुपर्ने देखिन्छ । त्यसैगरी निर्यातका क्रममा बोर्डर प्रक्रिया पुरा गर्न ११ घण्टा र डकुमेन्ट प्रक्रिया पुरा गर्न करिव ४३ घण्टा लाग्ने देखिन्छ ।

नेपालले वीरगञ्जमा एकीकृत चेकपोस्ट खडा गरेपछि आयात निर्यातमा समय तथा लागत दुवै घटाउन सफल भएको छ । नेपाल भारत बीचको रेल सम्झौता संशोधनबाट नेपालको आयात निर्यातको लागत तथा समय घटाउन र कागजी प्रक्रियामा पनि सरलता आउने विश्वास महासंघको छ ।

समग्रमा नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा भएको संशोधनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा निकै ठूलो परिवर्तन आउने अपेक्षा महासंघको छ र उक्त संशोधित सम्झौताको अक्षरशः पालनाका लागि महासंघ दुवै देशका सरकार समक्ष अनुरोध पनि गर्दछ ।

नेपाल चेम्वर अफ कमर्सले पनि छुट्टै विज्ञप्ती जारी गरी उक्त संशोधनको स्वागत गरेको छ । चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउँदै यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिएका छन् ।

अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने बताउँदै चेम्वरले बिगत धेरै समयदेखि व्यवसायिक लागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिँदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी हुने र वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =