ब्रिटिस प्रोफेसनल कलेज र एसीसीएद्वारा पोखरामा बृहत् लेखा शिक्षक कार्यशाला आयोजना

काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको र प्लेटिनम मान्यता प्राप्त एसीसीए प्रदायक संस्था ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) ले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) सँगको सहकार्यमा पोखरामा एक वृहत् लेखा शिक्षक कार्यशाला सम्पन्न गरेको छ ।

यही जेठ २३ गते पोखरा इभेन्ट सेन्टरमा ‘आइएफआरएस र एनएफआरएस’ सम्बन्धी उक्त व्यावसायिक विकास कार्यशाला सफलतापूर्वक आयोजना गरिएको हो ।

गण्डकी क्षेत्रका १५० भन्दा बढी विद्यालय तथा कलेजका २०० भन्दा बढी लेखा तथा वित्त क्षेत्रका शिक्षक एवं प्राध्यापकहरूको उत्साहजनक सहभागिता रहेको यो कार्यक्रम यस क्षेत्रकै सबैभन्दा ठुलो शैक्षिक जमघटमध्ये एक बनेको कलेजले जनाएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड र नेपाल वित्तीय प्रतिवेदन मापदण्डबारे शिक्षकहरूको बुझाइलाई अझ सुदृढ बनाउने र लेखा शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यशालाको प्राविधिक सत्रहरू एफसीसीए बिक्रान्त आचार्यले सञ्चालन गरेका थिए, जहाँ उनले वर्तमान लेखा अभ्यास, वित्तीय प्रतिवेदनका मापदण्ड र यस क्षेत्रमा भित्रिएका नवीनतम प्रवृत्तिहरूबारे व्यावहारिक ज्ञान र अन्तर्दृष्टि साझा गरे ।

कार्यक्रममा बोल्दै ब्रिटिस एजुकेसन ग्रुपका प्रोफेसनल एजुकेसन प्रमुख दिपेन्द्र के. श्रेष्ठले भने, ‘शिक्षकहरूको यो उत्साहजनक सहभागिताले नेपालमा लेखा शिक्षाको गुणस्तर सुधारप्रतिको ठुलो प्रतिबद्धता झल्काउँछ । एसीसीएसँग मिलेर शिक्षकहरूका लागि यस्ता अर्थपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

यसैगरी ब्रिटिस एजुकेसन ग्रुप/द ब्रिटिस कलेज तथा द कँडेल ग्रुप नेपालका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलले शिक्षा क्षेत्रमा निरन्तरको व्यावसायिक विकासको महत्त्वमाथि प्रकाश पारे ।

उनले भने, ‘विश्वव्यापी रूपमा लेखा र वित्त पेसा द्रुत गतिमा परिवर्तन भइरहेको छ । यस अवस्थामा शिक्षकहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिवेदन मापदण्डहरूसँग अपडेट भइरहनु अनिवार्य छ। यस्ता कार्यशालाले भावी जनशक्तिलाई विश्वबजारको माग अनुरूप तयार पार्न ठुलो भूमिका खेल्छन् ।’

कार्यक्रमले गण्डकी प्रदेशभरिका शिक्षकहरूबीच आपसी ज्ञान आदानप्रदान र सहकार्यका लागि एक बलियो नेटवर्किङ प्लेटफर्मको समेत काम गरेको थियो ।

काठमाडौँ र पोखरा दुवै स्थानमा एसीसीएको अध्यापन गराउँदै आएको ब्रिटिस प्रोफेसनल कलेजले व्यावसायिक शिक्षाको विकास र शिक्षकहरूको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।

हाल कलेजका दुवै केन्द्रमा एसीसीएको नयाँ भर्ना खुला रहेको समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =