हेलम्बुमा प्रधानमन्त्रीको प्रण : विस्थापितलाई सरकारले नगद र जस्तापाता दिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी/पहिरोपीडित हेलम्बुवासीलाई तत्काल १५ सय बन्डल जस्तापाता दिने बताएका छन् । सिन्धुपाल्चोकको हेलम्बुलगायतका क्षेत्रमा गत असार ५ गते आएको बाढी/पहिरोबारे बुझ्न शनिवार (आज) सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री जाने भएपछि राखिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरीका मनसुनपीडितका लागि सरकारले ५० हजारका दरले राहत उपलब्ध गराउने बताए । प्रधानमन्त्री ओलीकाअनुसार सिन्धुपाल्चोक, मेलम्ची, हेलम्बु, पाचँपोखरी र थाङपाललगायत अन्य सात जिल्लामा निजी आवास क्षति भएका परिवारलाई अस्थायी घर तत्काल बनाउन ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय सरकारले गरेको छ ।

बाढीले हेलम्बु गाउँपालिका–१ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका करिब २८ घर टहरा बगाएको थियो भने वडा नं. २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११२ परिवार विस्थापित भएका थिए ।

किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यादयको भवनसमेत बाढीले बगाएको थियो । वडा नं. ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको थियो । यसैगरी गाउँपालिकाको वडा नं. ७ मा पर्ने चनौटेको मुख्य बजारका करिब २५ पसल बाढीले बगाएको थियो भने अधिकांश घरमा क्षति पुगेको थियो ।

यसपछि त्यहाँका पीडितहरुले गत असार ११ गते १८ बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद तथा पूर्वस्वास्थयमन्त्री शेरबहादुर तामाङमार्फत सिन्धुपाल्चोकवासीको ज्ञापनपत्र पाएपछि प्रधानमन्त्री ओली आज हेलम्बुतिर सोझिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *