एमाले विवाद

आजै बन्ला सहमतिको खाका ?

खाका आजै शीर्ष नेतालाई बुझाउने सदस्यहरुको भनाइ

काठमाडौं । एमालेको आन्तरिक विवाद समाधान गर्नेगरी गत २१ गतेदेखि लगातार रुपमा बसिरहेको १० सदस्यीय एमाले कार्यदलको बैठक शनिबार (आज) पनि बस्दैछ । नेताहरुले आजको बैठकबाट समाधानको बिन्दु पहिल्याउने दाबी गरेका छन् । विगत ३ दिनदेखि पटक–पटक बसेको बैठक ‘निर्णायक’ भन्दै आएका कार्यदलका सदस्यहरुले शनिबारको बैठकलाई अन्तिम बैठकमा रुपमा अर्थ्याएका छन् । संस्थापन पक्षको तर्फबाट गठित वार्ता टोलीका सदस्य सुवासचन्द्र नेम्वाङ्गले भने— ‘आजको बैठकमा भने सहमति जुट्न सक्छ । सहमतिको मस्यौदामाथि हामीले छलफल सकिसकेका छौँ ।’

कार्यदलले आजै सहमतिको खाका बनाएर शीर्ष नेतालाई बुझाउने तयारी गरिरहेको संस्थापन पक्षको तर्फबाट गठित वार्ता टोलीका एक सदस्यले बताए । ‘सम्भवतः आजकै बैठकबाट सहमतिको खाका तयार हुन्छ,’ ती सदस्यले भने— ‘सकेसम्म आजै शीर्ष नेतालाई बुझाउने भनेका छौँ ।’

कार्यदलको बैठक शुक्रवार (हिजो) पनि दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपश्चात् कार्यदलका सदस्यद्वय प्रदीपकुमार ज्ञवाली र विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको दाबी गरेका थिए । ‘मस्यौदामा छलफल गर्यौँ । मस्यौदामा हामीलाई लागेका सुझावहरू दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म भोलि नै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न गर्नेछौँ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भन्ने केही बुँदाहरूमा हामीले आफ्ना धारणाहरूलाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ,’ नेताहरुले भनेका थिए ।

कार्यदलका सदस्यहरुले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् । जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल शुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *