जुत्ता (कविता)

अचानक भेटिए
दुई दशक पुराना जुत्ता ।

खुइलिसकेका । मैला । कुनै आकर्षणबिनाका ।
तर, बलिया ।
(अझै लाउन मिल्ने ।)
सुतलीमा ठ्याक्कै उसकै पैतलाका डोब भएकाले
‘आफ्नो होइन’ भनेर ढाँट्नै नमिल्ने
एक जोर जुत्ता भेटिए ।
उसले लाज मान्यो ।

सोचेको थिएन
जुत्ता यसरी, यो हालतमा भेटिएलान् ।
जुत्ताले यसरी आफ्नो अतीत छ्याङ्गै बनाइदेला ।
बिर्सन खोजेको समय
फेरि बिस्कुनझैं फिजाइदेला ।

उसको जुत्ता त्यस्तो दिनमा भेटिए
त्यस्तो समयमा भेटिए
जुन दिन, जुन समय
ऊ मन्त्रीको सपथ खान निस्कनै लागेको थियो ।
जुत्ता भेटिनुलाई उसले ‘अपशकुन’ मान्यो ।

हुन त त्यस्तो केही थिएन, जुत्तामा ।
थियो त उही गाउँ ।
लेकबेसीका गीत । रोपाइँ मेला । पसिनाको संगीत ।
धान नाच । उधौली । उभौली ।
युद्ध । युद्धविराम । सम्झौता ।
यति भोगेपछि
जुत्ता
शहर पसेका थिए ।
र, कतै कुनामा मिल्काइएका थिए ।

दुई दशकपछि
घर सफा गर्ने कामदारले निकाल्यो जुत्ता
र राखिदियो मालिकको अघि ।
जुत्ता अचानक बोल्न थाले ।
जुत्ताले अचानक कहानी भन्न थाले ।
जुत्ता वरिपरि भेला भए छोराछोरी । श्रीमती । र आफन्तहरु ।
कामदार । अंगरक्षक । छिमेकी । र कार्यकर्ताहरु ।
मान्छेहरु घरी उसलाई र घरी जुत्तालाई हेर्न थाले ।
ऊ चुपचाप छ । निःशब्द छ ।
मान्छेहरु जुत्ताको कथामा गम्भीर बनिरहेछन् ।

– जुत्तालाई संग्राहलयमा राख्नुपर्छ ।
– जुत्तालाई प्रदर्शनीमा राख्नुपर्छ ।
– जुत्ताका लागि मन्दिर बनाउनुपर्छ ।
– जुत्ता गाउँमै फर्काएर उसको पुर्खौली घरको ढोकामा टाँस्नुपर्छ ।
– जुत्तालाई महत्व दिनुहुन्न । मिल्काउनुपर्छ ।
– जुत्तालाई जलाइदिनुपर्छ ।
– जुत्ता प्रतिगमन हो, जेल हाल्नुपर्छ ।

मान्छेहरुले तर्क वितर्क गरे
कसैले जुत्ताको भजन गाए ।
कसैले जुत्तालाई गाली दिए ।
जुत्ताको भजनले पनि उसलाई पोल्यो ।
जुत्तामाथिको गालीले पनि उसलाई दुख्यो ।
जुत्ता एउटा समय थियो
जसले उसलाई बोकेर यहाँसम्म ल्याएको हो ।

ऊ अचानक २० वर्षअघिको मान्छेमा फेरियो
र, पुराना जुत्ता लगाएर गाउँतिर लाग्यो ।

को हो
नयाँ जुत्ता भिरेर
बुल्डोजरमाथि बसी
मन्त्रीको सपथ खान हिँडेको मान्छे ?

प्रतिक्रिया

2 thoughts on “जुत्ता (कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *