१ अर्ब १४ करोड लागतमा बुद्धमूर्ति र पार्क

बुटवल । बुटवल उपमहानगरपालिकामा १ अर्ब १४ करोडभन्दा बढीको लागतमा बुद्धमूर्ति बन्ने भएको छ । उपमहानगरपालिको ६, ७ र ८ नम्बर वडाको बुटवल हिलपार्क क्षेत्रमा १ अर्ब १४ करोड, ३४ लाख ३१ हजार ५ सय ६३ रुपैयाँको लागतमा मूर्ति ४३.५ मिटर अग्लो बुद्धमूर्ति बन्ने भएको हो । प्राविधिक सुमन श्रेष्ठकाअनुसार यो अनुमानित लागत हो । प्राविधिक श्रेष्ठले मकालुखबरसँग भने— ‘यो डीपीआरअनुसार अनुमानित लागत होे, यसमा केही घटबढ हुनसक्छ ।’

स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा ३६ हजार ५ सय ७९ वर्गमिटर क्षेत्रफलमा मूर्ति बनाउन लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले मकालुखबरलाई जानकारी दिए । हिलपार्क परिसरमा प्रस्ताव गरिएको बुद्धमूर्ति तथा पार्कका संरचनाहरुको निमार्णलगायत आयोजनाको विस्तृत योजना प्रतिवेदन तयार गर्ने जिम्मा परामर्शदाताको रुपमा ह्याण्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंले पाएको पनि रेग्मीले जानकारी दिए ।

उपमहानगरपालिकाले तयार पारेको योजनाअनुसार हिलपार्कको माथिल्लो डाँडोमा ४३.५ मिटर अग्लो ‘बिग बुद्ध स्ट्याच्यू मङ्क रेसिडेन्स’, ‘मोनास्टी’, ‘क्याफ्टेरिया’, ‘स्यानेटटरी ब्लक’, बगैंचा आदि संरचना बनाउने र नियमित रुपमा पूजाआजा, ध्यानका साथै पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अवलोकनको व्यवस्था रहने छ । पार्क निमार्ण भएपछि दैनिक २ हजारभन्दा बढी मानिसको आवतजावत हुने आशा गरेको उपमहानगरपालिकाका सूचना अधिकारी मित्रमणी खनालले जानकारी दिए ।

उपमहानगरपालिकाले २०७५ असोजमा दीर्घकालीन विकास गुरुयोजना बनाएर सार्वजनिक गरेको प्रस्तावमा शिवनगर सामुदायिक वनमा ‘रामापिथेकस जियोलोजिकल पार्क’, जितगढी किल्लामा उजिरसिंहको शालिकसँगै सबैभन्दा अग्लो र ठूलो राष्ट्रिय झण्डा फहराउने, बुटवलको पुरातात्विक बस्ती वडा नम्बर १ र २ लाई पुरातात्विक बस्तीका रुपमा विकास गर्दै बुटवल–१ मा बटौली संग्रहालय, हिलपार्कमा जनजाति संग्राहलय, मोतिपुरमा थारु संग्राहलय र सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र, नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेसनका रुपमा विकास गर्न केबलकार बनाउनेलगायत अवधारणा पनि राखिएको थियो ।

सोहीअनुसार बुद्धमूर्तिसँगै पार्क बन्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *