विद्यार्थीलाई तनाव, त्रिविलाई हाइसन्चो !

काठमाडौं । म जुन ठाउँमा जन्मिएँ‚ त्यहाँ विश्वविद्यालय त के‚ पढ्नुपर्छ भन्ने ज्ञानसमेत कमैमा थियो । त्यस्तो ठाउँमा जन्मिएर उच्च शिक्षा हाँसिल गर्न पाउनु मेरा लागि खुसीको कुरा हो । ‘समाजमा तैँले केही गरेर देखाउनुपर्छ है’ भन्नेहरूका कारण मलाई हौसला र दबाब दुवै हुन्थ्यो ।

यसरी विभिन्न समस्या र चुनौतीहरूका बिच भौँतारिँदै देशकै राजधानी काठमाडौं आइपुगें । ‘राजधानीमा त के-के नै होला’ सोचेर आएकी मैले त्यस्तोचाहिँ पाइनँ । लाग्यो- हुने खानेका लागि मात्र राजधानी उल्लासपूर्ण रहेछ । मजस्ताका लागि त छायाँमा परेको सरकारजस्तै भयो । जति राम्रो गर्न खोज्दा पनि हौसला नपाइने, जति बोले पनि कसैले वास्ता नगरिदिने । तर पढेर केही गर्नका लागि राजधानी छिरेकी म‚ यस्ता नरमाइला कुराहरूसँगै हार खाएर फेरि गाउँ फर्किनु सही हुने थिएन किनभने गाउँमा पढ्ने अवसर थिएन ।

कोरोना महामारीका बिच देशकै प्रतिष्ठित, पुरानो, स्थापित र ठूलो त्रिभुवन विश्वविद्यालयले गर्नुपर्ने जति काम गर्न नसक्दा मजस्ता हजारौं विद्यार्थी अन्यौलमा छौं ।

विश्वविद्यालयको अनुभव हुँदै थियो । नयाँ-नयाँ साथी बन्दै थिए । पढाइ पनि राम्रो हुँदै गइरहेको थियो । कोभिड कहर सुरु भयो । २०७६ को चैतमा देशव्यापी रुपमा शुरु भएको लकडाउनले सबै काम ठप्प भए । मजस्ता पढ्न भनेर सहर पसेका विद्यार्थी झन् ठुलो मारमा पर्यौं ।

केही महिनापछि महामारी कम हुँदै जाँदा देशले केही लय समात्दै गयो । मजस्ता सपना बोकेर सहर छिरेका विद्यार्थीको सपना फेरि पलाउँदै थिए । कोरोनाको अर्को महामारी सुरु भयो । राजधानीमा १६ वैशाखबाट निषेधाज्ञा लगाइयो । अहिले अलि खुकुलो बनाइए पनि निषेधाज्ञा सकिएको छैन ।

कोभिड महामारीले धेरै क्षेत्रमा असर गर्‍यो । मलाई लाग्छ शिक्षा क्षेत्रमा सबैभन्दा धेरै असर गर्‍यो । यो असर आर्थिक रुपमा मात्र मापन गर्न सकिँदैन । यसको असर लामो समयसम्म रहनेछ ।

कोरोना महामारीका बिच देशकै प्रतिष्ठित, पुरानो, स्थापित र ठूलो त्रिभुवन विश्वविद्यालयले गर्नुपर्ने जति काम गर्न नसक्दा मजस्ता हजारौं विद्यार्थी अन्यौलमा छौं । त्रिविप्रतिको आक्रोश पनि सामाजिक सञ्जालहरूमा बेलाबेला देख्न पाइन्छ नै । २०७६ सालमा स्नातक पहिलो वर्षमा भर्ना भएका विद्यार्थी २०७८ सम्म पनि पहिलो वर्षकै विद्यार्थीका रुपमा रहेका छन् । अझैसम्म परीक्षा लिन नसक्दा मजस्ता हजारौं विद्यार्थी आफ्नो भविष्यप्रति चिन्तित र उत्तिकै दुःखी छौं । अझ दुःखको कुरा हजारौं विद्यार्थीको यति गम्भीर समस्यामा सरोकारवालाहरू हुनुपर्ने जति चिन्तित भएका छैनन् ।

अब स्नातक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीका तीनवटा ब्याच हुनेछन् । झन् भद्रगोल । चार वर्षे स्नातक तह पूरा गर्न कति वर्ष लाग्ने हो ?

त्रिविले नै भन्न सक्ने अवस्था छैन । खासै चासो पनि गरेको जस्तो देखिँदैन । मजस्ता हजारौं संख्यामा पढ्न शहर पसेका विद्यार्थीको भविष्य अन्योलमा रहेको कुरा के विद्यार्थीको मात्र चिन्ताको कुरा हो ? यसमा त्रिविको उत्तरदायित्व केही हुँदैन ?

त्रिविका यति धेरै विद्यार्थी हुँदा त्रिवि आफैँ अन्योलमा हुनु र कोभिडको महामारी फैलिएको एक वर्ष बितिसक्दा पनि ठोस काम गर्न नसक्नु कतिसम्मको लापरबाही हो यसबारे बोल्ने कसले ? त्रिविलाई यसबारे सचेत र गम्भीर बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने र खेल्न सक्ने विद्यार्थी संघ संगठनहरू लापत्ता छन् ।

पढेर जागिर खाने वा थप पढाइ अघि बढाउने वा विदेश जाने‚ जे योजनाका साथ आएका भएपनि विद्यार्थीको भविष्यबारे कसले हेर्छ ? न त यसप्रति त्रिविको चासो नै देखिन्छ‚ न त सरकारको नै । सरकारले कसलाई हेरोस्, आफ्नै कुर्सी जोगाउनै उसलाई सकस छ । अनलाइन कक्षा भनेर विद्यार्थीलाई सान्त्वना दिइरहेको छ । जब कि फोन गर्नलाई समेत नेटले काम नगर्ने अवस्था छ । यस्तो विकट ठाउमा बस्ने विद्यार्थीले कसरी अनलाइन कक्षामा समावेश हुने ? साउन मसान्तसम्म त्रिविले स्नातक तहको परीक्षा लिने भनेपनि त्यसका लागि केही गृहकार्य गरेको देखिँदैन । विज्ञान र प्रविधिको युगमा हाम्रो यो हालत सुधार्ने कसले ? कहिले ?

त्रिविका यति धेरै विद्यार्थी हुँदा त्रिवि आफैँ अन्योलमा हुनु र कोभिडको महामारी फैलिएको एक वर्ष बितिसक्दा पनि ठोस काम गर्न नसक्नु कतिसम्मको लापरबाही हो यसबारे बोल्ने कसले ? त्रिविलाई यसबारे सचेत र गम्भीर बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने र खेल्न सक्ने विद्यार्थी संघ संगठनहरू लापत्ता छन् । हुन त विद्यार्थीका विषयमा नबोल्ने त उनीहरुको परिचय नै बनिसकेको छ ।

क्याम्पसमा राजनीति गर्ने मैँ हुँ र सबै काम मैले गर्न सक्छु भन्ने विद्यार्थी नेताको नामोनिशानासमेत छैन । के उनीहरूको पनि पहल गर्ने दायित्व होइन र ? कि उनीहरूको जम्माजम्मी दायित्व भनेकै भर्ना र परीक्षाका फारम भेला गर्ने हो ?

मजस्ता हजारौं संख्यामा पढ्न शहर पसेका विद्यार्थीको भविष्य अन्योलमा रहेको कुरा के विद्यार्थीको मात्र चिन्ताको कुरा हो ? यसमा त्रिविको उत्तरदायित्व केही हुँदैन ?

विश्वविद्यालय, क्याम्पसमा पढ्ने विद्यार्थी भनेका देशलाई चलाउन सक्ने युवा शक्ति हो । जबकी यी विद्यार्थीप्रति कुनै पनि सरोकारवालाको ध्यान पुग्न सक्दैन‚ अनि कसरी गुणस्तरीय शिक्षाको विकास हुन सक्छ ? पहिलो समस्या भनेकै हाम्रो शिक्षा प्रणाली व्यवहारिक छैन भन्ने हो‚ त्यसमा पनि फोहोरी राजनीति र सरकारी निकायले शिक्षा क्षेत्रमा चासो नदेखाउनुले र देखाएता पनि काम गर्न नसक्दा समग्र शिक्षा प्रणालीमाथि नै निराशा बढ्दै गएको हो ।

प्रत्येक विद्यार्थीको चाहना आफ्नै देशमा रोजगारी पाउन सक्ने अवस्थाको सिर्जना होस् भन्ने हो । देशमै कुनै इलमको शुरुवात गर्न सकौं भन्ने हो । बाँकी त के नै छ र ? झोला बोकी पढ्न शहर छिरेका बुढिआमैका सन्तान त्यही झोला बोकेर दिन प्रतिदिन खाँडीमा भासिन बाध्य भइरहेका छन् ।

कोरोना भाइसको महामारीमा सरकारलाई जनताले अनुभूति गर्न सक्ने काम गर्न एउटा राम्रो अवसर पनि हो तर त्यसलाई पनि बेवास्ता गरेर सत्ताकै होडबाजी चल्ल्नु कत्तिसम्मको लाचारपन हो ? यसको प्रत्यक्ष असर देशका विभिन्न निकायमा पर्न गएको छ र यसबाट शिक्षा क्षेत्र पनि अछुतो रहन सकेको छैन ।

कोभिडको महामारिले परम्परागत शिक्षण पद्धतिलाई विस्थापित गरी नयाँ शिक्षण पद्धति अवलम्बन गर्न आवश्यक रहेको पुनर्पुष्टि पनि गरेको छ । तर सम्बन्धित सरोकारवाला अथवा शिक्षा मन्त्रालय र त्रिवि पनि यतातर्फ संवेदनशील भएर लागेका छैनन् । यस्तो बेलामा सरोकारवालाको अचम्मको मौनता देखिनु दुःखद हो । यसको असर वर्षौंसम्म पनि रहिरहनेछ हाम्रो उच्च शिक्षाको क्षेत्रमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *