एमाले विवाद

‘साँझसम्म समाधानको बिन्दुमा पुग्छौँ’

काठमाडौं । एमाले कार्यदलबीचको बैठक सकिएको छ । बिहान ११ बजेदेखि सिंहदरबारमा बसेको बैठकबाट लगभग सहमतिको बिन्दुमा पुगेको इतर पक्षबाट गठित वार्ता टोलीका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकपछि नेता विष्टले भने— ‘कार्यदलले चौंथो बैठक सम्पन्न गरेको छ । हिजोभन्दा आज थप प्रगति भएको छ । केही कुरा बाँकी छ, त्यो कुरा टुङ्गो लगाउनेगरी साँझ फेरि छलफल हुनेछ ।’

नेता विष्टले निष्कर्षमा पुग्नको लागि अब धेरै समय नलाग्नेसमेत बताएका छन् । ‘आज साँझ धेरै हदसम्म समाधान खोज्छौं । अब धेरै लामो समय लाग्ने अवस्था छैन । लगभग हामी समाधानको बिन्दुमा आएका छौँ ।’ बिहानको बैठक पनि सकारात्मक दिशामा अगाडि बढेको नेता विष्टले बताएका छन् । ‘सायद भरैसम्ममा समाधानमा बिन्दुमा पुग्छौँ ।’

यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलका क्रममा ‘पावर सेयरिङ्ग’ सम्मको कुरा भएपनि सहमति भने जुटेन । आजको कार्यदल बैठकमा पुनः दुई नेताबीच भेट गराउनेलगायतका विषयमा छलफल भएको थियो ।

एमालेको आन्तरिक समस्या समाधान गर्न संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ्गको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, विष्णु रिमाल रप्रदीप ज्ञवाली छन् भने इतर पक्षबाट भीम रावलको संयोजकत्वमा नेता विष्टसँगै घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *