वर्षदिन बित्दा पनि भएन कोरोना बीमाको भुक्तानी, सरकारले गरेन निकासा

काठमाडौं । एघार महिनाअघि कोरोना बीमाकाे रकम भुक्तानी दाबी गरेका मोरङका १९ जना पत्रकारले भुक्तानी नपाएपछि अहिले आन्दोलन थालेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीदेखि इन्स्योरेन्स कम्पनीलाई समेत ध्यानकर्षणपत्र बुझाएका छन् । तर, भुक्तानी अझै नपाएको पत्रकार महासंघ मोरङका निवर्तमान सचिव अर्जुन आचार्यले जानकारी दिए ।  इन्स्योरेन्स कम्पनीले भने सरकारबाटै रकम निकासा नभएकाले भुक्तानी गर्न नसकेको  बताएको छ ।

बीमा समितिले उपलब्ध गराएको गतचैतसम्मको तथ्यांकअनुसार ६० हजार ५ सय ८७ जनाले  ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति पाएका छन् । उनीहरूमध्ये सबैले भुक्तानी भने पाएका छैनन् । कतिले पाए भन्ने रेकर्ड समितिसँग छैन । त्यसाे त चैतयता थप कति जनाले बीमा रकम दाबी भुक्तानीको  अनुमति पाए भन्ने तथ्याङ्क समितिसँग पनि छैन । समितिका सूचना अधिकारी निर्मल अधिकारीले असार अन्तिमसम्मको तथ्याङ्क एकैसाथ सार्वजनिक गर्ने तयारी भइरहेकाे मकालुखबरलाई बताए ।

कोरोना बीमाबापतको आर्थिक दायित्व सरकारले नव्यहोर्दा दाबी भुक्तानीमा समस्या आएको बिमक कम्पनीहरुकाे दाबी छ । कोरोना बीमा दाबी भुक्तानीका लागि ३ अर्ब ५० करोडमात्रै सरकारबाहेकका संस्थाहरुले दिने नियम छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार बीमा कम्पनीहरुले १ अर्ब, नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब, बीमा समितिले १ अर्ब र बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ व्यहोर्ने व्यवस्था गरिएको छ ।

त्यसभन्दा बढी दाबी भुक्तानी आए सरकारले व्यहोर्नुपर्ने व्यवस्था छ । तर, चैतसम्ममै सरकारले आफ्नो दायित्वमा पर्ने २ अर्ब ३५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी दिनुपर्ने देखिएको समितिका सूचना अधिकारी अधिकारीले बताए । असार मसान्तसम्ममा यो रकम अझ बढ्ने निश्चित छ । ‘असारसम्म दाबी आउन सक्छ,’ उनले भने, ‘त्यसपछि यो बीमा खारेज हुने भएकोले दाबी भुक्तानीका लागि आउँदैन । असार मसान्तसम्ममा सबै तथ्यांक आउनेछ ।’

चैतसम्मकै दाबीमा पनि सरकारले तिर्नुपर्ने रकम ठूलो भइसकेको र, सरकारले निकासा नदिएको उनले जानकारी दिए । ‘चारवटा निकायले गरी कोरोना बीमा पुलमा साढे ३ अर्बसम्मको दायित्व व्यहोर्ने भन्ने थियो । यी निकायको दायित्वअन्तर्गत पर्ने रकम भुक्तानी भइसकेको छ, ’ उनले भने, ‘तर सरकारको दायित्वमा पर्ने रकम निकासा नआएकाले भुक्तानीमा समस्या भएको हो ।’

मापदण्डअनुसार कोरोना दाबी बापत २५ हजार, ५० हजार, ७० हजार र १ लाख रुपैयाँ भुक्तानी पाउने व्यवस्था छ ।

‘काेराेना बीमा दाबी भुक्तानीका लागि बनाइएकाे कोरोना बीमा पुलमा बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र महाविपत्ति कोषको रकमबाट भुक्तानी दिइसकिएको छ,’ अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक महेशराज खरेलले भने, ‘गतवर्ष १२ महिनामा हामीले कुल ५६ करोडको दाबी भुक्तानी दिँदा १२ करोड ५८ लाख रुपैयाँ त कोरोना बीमाका बीमितलाई भुक्तानी दिएका छौं ।’

सरकारका एक प्रतिनिधि, सरुवा रोग अस्पताल टेकुका प्रतिनिधि, बीमा समितिका प्रतिनिधि र बीमा कम्पनीका प्रतिनिधि सम्मिलित समितिले दाबी आएका केसहरुको अध्ययन गरी भुक्तानीका लागि सिफारिस गर्ने भएकाले इन्स्योरेन्स कम्पनीले चाहेर मात्रै भुक्तानी रोक्न नसक्ने उनले बताए ।

‘रकम आउँछ तर कहिले आउँछ, भन्न सकिँदैन’

बीमा समितिका सूचना अधिकारी अधिकारीले भने सरकारको दायित्वमा परेको रकम आउने निश्चित भए पनि कहिले आउँछ भन्ने निश्चित नभएको बताए । सरकार अहिले राजनीतिक विषयमा अलमलिएको बेला भएकाले रकम आउन ढिलो भए पनि उक्त रकम विमितले पाउनेमा आफूहरु ढुक्क रहेको अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक खरेलको भनाइ छ ।

के भन्छ सरकार ? 

कोरोना बीमा दाबी भुक्तानीका लागि आवश्यक रकम माग गर्दै बीमा समितिले अर्थमन्त्रालयलाई पत्र पठाएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

‘कोरोना बीमाको दाबी भुक्तानीका लागि निकासा माग गर्दै अर्थमन्त्रालयमा डेढ महिनाअघि नै पत्र आएको मैले जानकारी पाएको छु,’ उनले भने, ‘तर, निकासा दिने विषयमा कुनै निर्णय भएको छैन । कहिले हुन्छ भन्ने विषय मैले भन्न सक्ने विषय होइन ।’

आफैंले कोरोनाको बीमा गर्ने नीति ल्याउने, कोरोना बीमा मापदण्ड २०७७ बनाउने र आफैंले आफ्नो दायित्वअन्तर्गत पर्ने रकम निकासा नदिने सरकारी शैलीले आम कोरोना पीडित विमितहरूले चाहिँ दाबी भुक्तानी नपाएर समस्यामा पर्नुपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *