बजार अनुगमनले तीनछक पार्दा

यता कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै निषेध आदेश जारी भयो । उता म्याद गुज्रेका सामानको बिक्री, तेलको मूल्य र चिनीको भाउ वृद्धि, मदिराको जथाभावी बिक्री र अक्सिमिटरको अभाव देखिएसँगै उपभोक्ताका गुनासोहरू आउने क्रम सुरू भयो । कोरोना महाव्याधिसँगै बजारमा देखिएको व्याधि रोक्नुपर्ने देखियो ।

गुनासोको सम्बोधन गर्न कञ्चनपुर र अछामको अनुभवको बलमा वैशाख २८ गतेदेखि बजार अनुगमन गर्ने योजना बन्यो । घरेलु कार्यालय, धादिङ उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, धादिङ र उपभोक्ता संस्थाका प्रतिनिधिसहितको टोली गठन भयो ।

पहिलो दिन धादिङबेशीको पुछार बजारबाट अनुगमन सुरू गर्दा लागेको थिएन कि यो एउटा ऐतिहासिक उपलब्धिको पहिलो कदम हुनेछ । राम्रै प्रतिक्रियासँगै उपभोक्ताबाट यहाँ, त्यहाँ, यता, उता, यो पसल, त्यो पसल, यो ठाउँ, त्यो गाउँ जताततै अनुगमन गरिदिन आग्रह गर्ने दर बढ्न थाल्यो । उपभोक्ताको माग बुझ्दै गएपछि टोली अनुगमनमा झन् जोडतोडले होमिएर दिन, रात नभनी कुद्न थाल्यो ।

निषेधाज्ञामा सीमित समय खुल्ने पसलहरू । एउटा पसल अनुगमन गर्न औसतमा आधा घण्टा लाग्ने । थोरै समयका बाबजुद धेरै पसल अनुगमन गर्नुपर्ने बाध्यता । कोरोनाको जोखिम, घामपानी, हावाहुरी, नजिक, टाढा केही नहेरी । विगतमा ७-८ जनाको अनुगमन टोलीलाई यतिबेला ४-५ जनामा झारेर । सामाजिक दूरी कायम गर्न त्यसको पनि दुईटा अलग अलग टोली बनाएर । टोलीको आकार बढ्ने र व्यवसायीहरू आतंकित हुन सक्ने भएकाले प्रहरी सबै ठाउँमा नलिएर । सार्वजनिक बिदा नभनी दैनिक ३ देखि १३ घण्टासम्म अनुगमन गर्दा टोली जिल्लाका १३ मध्ये १२ स्थानीय तहमा पुग्यो । ६ सयभन्दा बढी फर्म, पसल हेर्योल । स्थानीय तहले गर्नुपर्ने बजार अनुगमन धादिङमा एकाध बाहेक अन्य स्थानीय तहले गरेको पाइएन । बरु जिल्लाकै टोली विगतमा पनि ठाउँठाउँमा पुगेको बुझियो ।

अनुगमन गरे त्रुटि भेटिन्छ, त्रुटि भेटिए कारबाही गर्नुपर्छ । म्याद गुज्रिएका सामग्री भेटिएका र लापरबाही गरेका पसललाई कारबाही भएको छ । म्याद गुज्रिएका सामग्री नभेटिएका पसल २० प्रतिशतभन्दा कम छन् । सबै कुरा राम्रो भएका पसल त अझ कम । राम्रा पसलका सञ्चालकलाई धन्यवाद दिन बिर्सेका छैनौँ ।

६८ ओटा फर्म, पसललाई ५ देखि ५० हजारसम्म नगद जरिवाना र एउटा फर्म १५ दिन सिल भयो । जरिवानाबाट ८ लाखभन्दा बढी रकम राज्यकोषमा थपियो । १४ लाख मूल्यका म्याद गुज्रिएका सामग्री जफत भए । एउटै पसलबाट ३७ थरी सामग्री जफत गरेको ‘रेकर्ड’ बन्यो । निषेधाज्ञामा बियर बिक्री गर्दै हिँड्ने गाडीबाट बियरका कार्टुन जफत गरिएका छन् । जफत सामग्रीमध्ये सबैभन्दा बढी सफ्ट ड्रिंक्सहरू, दोस्रोमा बिस्कुट, तेस्रोमा कुरकुरे, पोट्याटो क्रेकर, लेज आदि, चौथोमा सुजी र पाँचौमा क्यान जुस जस्ता वस्तु छन् ।

कतिपय फर्मले न्यूनतम मापदण्ड पनि पालना गरेका छैनन् । टोली आएको शंका गरेर भाग्न खोज्ने, सटर बन्द गर्ने बिक्रेतालाई कुरेर, फकाएर, साइनबोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गरेर वा दोहोर्या्एर गएर पनि अनुगमन गरेरै छाडिएको छ । कानुनबाट कोही भाग्न नसक्ने रहेछ ।

विषम परिस्थितिका कारण अनुगमनको प्राथमिकता होइन कारबाही । पहिलो कुरा, उपभोक्ताको सुलभ, स्वस्थ्यकर र गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता हो । त्यसैले मौकाको फाइदा उठाउँदै अनुचित व्यवसाय गर्ने बिक्रेतालाई कानुनी दायरामा ल्याइएको छ । दोस्रो कुरा, नियमित अनुगमनले उपभोक्ता र व्यवसायी सचेत भएका छन् । तेस्रो, नागरिक तथा उपभोक्तामा राज्य भएको अनुभूति दिलाउने सानो प्रयास भएको छ ।

अनुगमनमा यति हिँडियो कि ! धादिङमा पाइने हरेकजसो वस्तुको म्याद जानकारी भइसक्यो । मिनरल वाटर, फेन्टा, कोक, बिस्कुट, कुरकुरे, चिप्स, चामल, बियर, चकलेट, हर्लिक्स, मसला, जुस, सूजी कुन ? कति समयमा ? म्याद जान्छ जान्ने भइएको छ । सिकाउने भइएको छ । अहिले जुनसुकै वस्तु प्रयोग गर्नुअघि म्याद हेर्न मन लाग्छ । हरेक कुरालाई म्यादसँगै जोड्न मन लाग्छ । अस्ति पत्रकार मित्र पोषनाथ अधिकारीका पिताजीले‚ ‘बाबु कति दिन भयो धादिङ आउनुभएको ?’ भनी सोध्दा जवाफ दिएको सम्झेर बेलाबेला आफैँ हाँस्छु‚ ‘धेरै भइसक्यो बुबा, सूजी प्याकिङ गरेको भए ‘एक्सपाएर’ भइसक्थ्यो । ७५ दिन कटिसक्यो ।’
हाहाऽऽऽऽऽऽहा ।

०००

अनुगमनको २१औं दिन रेकर्डतोडै भो । सल्यानटारमा १५ दिनअघि सिल गरेको पसल खोल्ने अनि बाँकी ठाउँ अनुगमन गर्ने योजनाअनुरूप बिहान पाँचै बजे निस्किएको, फर्किँदा रातिको साढे आठ बजेछ । खाना खान आधा घण्टा र खाजा खान अर्को आधा घण्टा बाहेक पुरै समय अनुगमनमै बित्यो ।

टोली निस्किँदा सदरमुकामका पसल खुलेकै थिएनन् । गोलाभञ्ज्याङ पुग्दा भर्खरै बढारकुँढार हुँदै गरेको पसलबाट सुरू भएको अनुगमन थुम्की, हनुमानडाँडा हुँदै टारीबेशीतिर लाग्यो । यतिबेला होटल चलेका त छैनन् तर बसोबास त्यही भएकाहरूले खोलेका होटल देखेपछि ‘घुस्नै’ पर्योा ।

उफ् ! टारीबेशीका होटलको बिजोग । एउटै होटलमा म्याद गुज्रिएका बियर, जुस, सफ्ट ड्रिंक्सका १०० बोतल जति नष्ट, अलिकति बिस्कुट जफतपछि सचेत गराउदै सल्यानटार (नेपालकै दोस्रो ठूलो टार) उक्लियौं । विदेशमा बसेर गाउँकै सुर्ता गर्ने एकजनाले विदेशबाटै वडा नं. १ तिर अनुगमन गरिदिनू भनेकाले त्यतै पुग्यौं । सुर्ता त्यसै गरेका रहेनछन्‚ किराना स्टोरहरूको लापरबाही कारबाहीयोग्य देखियो । सल्यानटारको चक्कर लगाउँदा पाँचवटा फर्मलाई जरिवाना लगाउनुपर्ने देखियो । जरिवाना प्राथमिकता होइन तर लापरबाहीको पनि हद अनि ‘एक्स्क्युज’ गर्ने पनि सीमा हुन्छ ।

धादिङबेशी वा अन्य बजारका २ सयभन्दा बढी पसलमा कतै नदेखिएका पेय पदार्थ सल्यानटारमा देख्दा छक परियो । नाममात्रै होइन रङ, डिजाइन, लेबलसमेत झुक्किने गरी उत्पादन गरिएका बहुराष्ट्रिय कम्पनीका ब्रान्डका जुम्ल्याहाजस्ता पेय पदार्थहरू ।

फेन्टा- सफ्ट ड्रिंक्समा सानैदेखि पहिलो प्राथमिकतामा पर्थ्यो र छ । यहाँ फन्टु भएछ । माउन्टेन ड्यूजस्तै मेन्टेन ड्यु । स्प्राइटजस्तै स्ट्राइक, स्पोर्ट । कोकाकोला जस्तै कोल्ड-कोला, चिसो-कोला, चट-कोला । झट्ट हेर्दा न रङ, न बोतल, न डिजाइन, केही छुट्याउनै नसकिने । कुनै धनगढी, कुनै रूपन्देही, कुनै झापामा उत्पादन भएका देखेपछि झन् चकित भएँ । कहाँ धनगढी ! कहाँ सल्यानटार ! कसरी यहाँ आइपुगे ?

आगिन्चोकको एक बिजनेस हाउसमा लापरबाहीको पराकाष्ठा । गाउँको एउटै पसलमा ३७ किसिमका म्याद गुज्रिएका सामग्री । चिसो । बिस्कुट । पिठो । चकलेट । पोट्याटो क्रेकर । मसलाहरू । तेल । बियर । सामान जे पनि, तर प्रायः म्याद सकिएका । २० हजार बराबरका सामान नष्ट, त्यतिकै मूल्यको जफत । साथमा नगद जरिवाना ।

याे पनि : ५० दिनदेखि बजार अनुगमन गरिरहेका सहायक प्रजिअ भन्छन्- उपभोक्ता जाग्नुपर्छ

उपभोक्ताको बहुतै गुनासो रहेको, यसअघि पटक पटक सचेत गराउँदा समेत नटेरेको आगिन्चोक डाँडाको चल्तीको पसल । सटर झारेको । ताल्चा नमारेको । साहुजी पर नयाँ घर बनाउँदै गरेको । भेटनरी आइटम, फेन्सी आइटम, मदिरा, खाद्यान्न, हार्डवेयर सबै ‘खिचडी’ हुने गरी भरेको । न पहिलेको निर्देशन पालना । न निषेधाज्ञाको हेक्का । न बिक्री बिल देखाउन सकेको । न पसल सफा । न मदिरा बेच्ने अनुमति ।

साहुजीले सहजै गल्ती स्वीकारे । ५० हजार जरिवाना तिर्नुपर्छ मात्र के भनियो, तुरून्तै मञ्जुरी । साहुजीको हाउभाउ, प्रस्तुति हेर्दा लाग्यो जरिवाना तिरेर उनले सजाय हैन छुट्कारा पाएका हुन् । उनले सहयोगीलाई भनेको कुरा अहिले पनि कानमा गुञ्जिरहेछ ‘बाबु ! अगि राखेको पैसा लिएर आउ ।’ अनुगमन आउँदै गरेको चाल पाएर त्यो पैसा जरिवाना तिर्नै ठीक पारेजस्तो । म दोस्रो पटक छक्क ।

म्याद गुज्रिएका सामग्री पाइने गाउँका पसले भन्छन्‚ ‘ओहो, यसको पनि म्याद गएछ ! यो त फलानो होलसेलबाट हिजै झारेको । म्याद गएकै पठाइदिएछ । तपाईंहरुले हामी साना व्यापारीलाई भन्दा ठूला होलसेललाई हेर्न पर्योो ।’

हतार हतार होलसेल गोदाममा छिरेर कार्टुन, बोरा च्यात्दै हेर्यो , म्याद गुज्रिएका भेटिँदैनन् । खाद्यान्नलगायत ‘ड्राई फुड्स’ बोकेका ट्रक, जीप बाटोमै रोकेर हेर्योु कतै होलसेलले म्याद गुज्रिएका सामान पठाएका छन् कि ? ओसार पसार तथा बिक्री वितरण निषेध गरिएका केही कार्टुन मदिराजन्य पदार्थ भेटिए । जफत गरियो । म्याद गुज्रिएका सामान भेटिएनन् । उसोभए यस्ता सामान आउँछन् कहाँबाट ? उपभोक्ता किन म्यादै नहेरी किन्छन् ? तेस्रो पटक छक्क । सायद यही होला तीनछक भनेको ।

०००

अनुगमनको क्रममा सिद्धलेकको खिर्रेभञ्ज्याङबाट झर्दा गाउँको बीचमा भेटिएको पसलमा पस्यौं । भित्र अनुगमन चलिरहँदा दुईजना महिला पार्किङ् गरी राखिएका गाडी छेउ डिलमा बसेर अनुगमनको अवलोकन गर्न थाले । केही पाकेट र केही बोतल म्याद गुज्रिएका सामान आँगनीमा निकालिरहँदा तिनका नजर कहिले आँगन, कहिले र्या कमा ओहोरदोहोर गर्दै थिए । साहुजीलाई सम्झाइरहँदा तिनका कानले पनि सुनिरहे ।

अनुगमन सकेर निस्किनै लाग्दा उमेरमा कान्छी देखिने महिला दुवै हात जोडेर नमस्कार मुद्रामा जुरुक्क उठ्दै भनिन्‚ ‘तपाईंहरूले त्यो डाँडाको काँल्दिदीको पसल नि हेर्दिनपर्योव । त्यहाँ झन् कति खानै नहुने सामान बेच्छन् ।’

को काँल्दिदी ?
‘खै काँल्दिदी काँल्दिदी भन्छन् । मान्छेको नाम था’छैन, पसलको नाम नि था’छैन । डाँडाको सबभन्दा ठूलो पसल के ।’

ए ! दोबाटो मुन्तिरको ?
‘अँऽऽऽ, त्यै ।’

त्यो बन्द थियो । हामीले पहिले नै धेरै गुनासो सुनेकोले खोल्न लगाएरै एकेक सामान हेरेर ऊ त्यो म्याद गएको सामान (गाडीमा देखाउँदै) जफत गरेर ल्याएका छौं ।

‘ठीक गर्नुभएछ’ उनले खुसी पोखिन् ।
नाम सोधेँ ।

‘सुन्तली ।’

पूरा नाम ?

‘सुन्तली नेपाली ।’

कुराकानी चलिरहँदा राजेन्द्र सरले गाडीबाट मास्क निकालेर दुवै जनालाई दुई दुईटा दिए ।

सुन्तली भन्छिन्‚ ‘सलले मुख छोपेर हिन्ने मान्छे, मास्क लाउनै आउँदैन हामीलाई ।ֹ’

राजेन्द्र सरले डण्डीपट्टीको भाग नाकमा अड्याएर लगाउने तरिका पनि सिकाइदिएपछि बाटो लाग्दै गर्दा मास्क लगाएरै भनिन्‚ ‘हामी त केही जान्दैनम्, तपैँहरू यसरी पसल हेर्न सध्धैं आउनुस् है ।’

(उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *