मृगस्थलीमा बन्दी मृग (तस्बिरहरु)

मृग भन्ने बित्तिकै जंगलमा उफ्रिउफ्रि रमाइरहेको चित्र दिमागमा आउँछ । मृगको स्वभाव नै जङ्गल र चरन क्षेत्रमा बुर्लुक्क उफ्रिंदै दौडिंदै रनबन चहार्ने खालको हुन्छ । त्यै भएर मान्छेको हातमा नआउने र बुर्कुसी मार्दै कुद्ने बाख्राको पाठालाई ‘कस्तो मृगको पाठो जस्ता’ भन्ने गरिन्छ ।

काठमाडौंको पाशुपत क्षेत्रमा पर्ने मृगस्थलीमा भने मृग नाचिरहेको हुँदैन । यहाँका मृग साधु छन् । मान्छे देख्दा भाग्दैनन् । बरु छेउमा आउँछन् । केही खानेकुरा ल्याइदिएका छन् कि भनेर मानिसका हात र अनुहारतिर हेर्छन् । मानिसले दिने चाउचाउ, बिस्कुटलागयत पनि खान्छन् । यहाँका मृग ‘घरपालुवा’ जस्तै छन् । चन्चले र चुलबुले छैनन् अल्छि र बोधा छन्, घरमा पालिएका बाख्रा जस्तै ।

किनकी यी मृग सिमित क्षेत्रमा बन्दी छन् । पशुपती क्षेत्र बिकास कोषले मृगस्थलीमा विसं २०६१ देखि मृगबाटिका बनाई मृगपालन गर्दै आएको छ । श्री स्वस्थानी कथामा श्लेषमान्तक वन र त्यहाँका मृगबारे उल्लेख गरिएको छ । पाशुपत क्षेत्रको श्लेषमान्तक वनमा पालिएको मृगलाई भगवान् शिवको स्वरुप मान्ने गरिएको छ । श्लेषमान्तक वन र त्यहाँका मृगसँग जोडिएको कथालाई भबिष्यसम्म पनि जोगाइराख्न यसरी मृगपालन गरिएको पशुपती क्षेत्र बिकास कोषले मृग संरक्षण र त्यसको हेरचाहको लागी खटिएका एक कर्मचारीले जानकारी दिए ।

मृगस्थलीमा अहिले २ सयको हाराहारीमा मृग छन् । मृगपालनका लागि छुट्याइएको ९५ रोपनी क्षेत्रफलमा सुरुमा ३० वटा मृग राखिएको थियो । अहिले त्यो संख्या बढेर झन्डै २ सय पुगिसकेको छ ।

मृगको संख्या दिनदिनै बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएर मृगस्थली उजाड बन्दै गएको छ । मृगको संख्या बढ्दै जाँदा खाने कुराको अभाव भएर मृगले वाटिकाभित्रको रुखको बोक्रा तथा जरासमेत उधिनेर खान थालेपछि कोषले रुखलाई जोगाउन तारबार गरेको छ । वाटिकाभित्र मृगहरु थकित जस्तै सुतिरहेका देख्न सकिन्छ । पशुपती क्षेत्र विकास कोषले मृग संरक्षणमा २२ जना कर्मचारी खटाएको जनाएको छ । ती कर्मचारीले मृगलाई पिठो, पानी, नुन, चना, चोक्कर र घाँस दिनमा दुईपटक दिने गरेका छन् । मृगको संख्या बढ्दै गएकाले अहिले मृग राष्ट्रिय बन्यजन्तु बिभागलाई हस्तान्तरण गर्न थालिएको छ ।

हेरौँ तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *