युरो २०२० सेमिफाइनल : इटाली र इंग्ल्यान्डको किन बढी चर्चा ?

काठमाडौं । युरो २०२० मा सेमिफाइनल समीकरण पूरा भएको छ । जहाँ अब फाइनल प्रवेशका लागि इटालीले स्पेन तथा इंग्ल्यान्डले डेनमार्कसँग खेल्दैछन् । सेमिफाइनल समीकरण पूरा भएसँगै अहिले इटाली र इंग्ल्यान्डको चर्चा उत्कर्षमा छ । इटालीले दाबेदार बेल्जियमलाई पाखा लगाएको तथा इंग्ल्यान्डले युक्रेनमाथि प्रभावशाली जित निकालेकाले अहिले यी दुई टिमलाई फाइनलको दाबेदारका रुपमा हेरिएको छ ।

इटालीको वेगमा कुन टिमले लगाउला ब्रेक ?
सन् २०१८ को विश्‍वकपमा छनोट हुन नसकेर आलोचित बनेको इटाली आफ्नो पुरानो साख फर्काउन निरन्तर प्रयासमा छ । चार पटकको विश्‍वकप विजेता भएर पनि छनोटमै असफल भएपछि तत्कालीन प्रशिक्षक जियान पिएरो भेन्टुरा पदमुक्त भए । त्यसपछि खस्किएको र गलेको इटालीको जिम्मा लिए पूर्वम्यानचेस्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीले ।

मान्सिनीको प्रशिक्षणमा इटालीले लडेको धुलोमात्रै टक्टक्याएन आफूलाई ३२ खेलसम्म अपराजित राख्दै आफ्नै कीर्तिमान तोड्दै अघि बढिरहेको छ । इटालीको यो वेगमा कुन टीमले ब्रेक लगाउला भन्ने प्रश्न सतहमा छ ।

मे २८, २०१८ यता इटालीले जम्मा दुई खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । मान्सिनीको परीक्षाका रुपमा मानिएको युरो २०२० ले एकपछि अर्को जवाफ दिएको छ । समूह चरणसम्म पनि इटालीलाई… कमजोर टीमलाई हराएर सान देखाएको आरोप लाग्ने गरेको थियो । तर क्वाटरफाइनलमा बेल्जियमलाई पाखा लगाउँदै इटालीले त्यसो भन्नेहरुलाई गतिलो जवाफ दिइरहेकै छ ।

युरो छनौटमा शतप्रतिशत जित, छनोटका १० खेलमा ३४ गोलपछि अब पछिल्ला ३२ खेलमा अपराजित छ इटाली । सन् १९३० को दशकमा भिट्टारियो पोज्जोले इटालीलाई ३० खेलमा अपराजित राखेको कीर्तिमान तोडेर मानसिनि अघि बढेका छन् ।

त्यसो त उनी फुटबलका प्रतिभावान डिजाइनरसमेत हुन् । मान्सिनीले अहिले युवा र अनुभवी टीमलाई दौडाइरहेका छन् । २२ वर्षीय जिजियो डोनारुमादेखि ३८ वर्षीय चिलिनीसम्म एउटै टीममा उत्साहका साथ अटाएका छन् ।

बलियो रक्षापंक्ति इटालीको विशेषता हो । मानसिनीप्रति विश्‍वास बढेरै इटालीयन फुटबल संघले उनलाई सन् २०२६ सम्मका लागि प्रशिक्षकमा बनाउने निर्णय गरेको छ । खेलाडी जीवनमा राष्ट्रिय टिमबाट महत्वपूर्ण उपाधि नजितेका मानसिनी अब प्रशिक्षकको रुपमा त्यो खडेरीबाट केवल दुई जित मात्रा टाढा छन् । सन् १९६८ पछि युरोकप उपाधि जित्नु एउटा ठुलो सपना पूरा हुनु पनि हो ।

यो सपना पूरा गर्न अघि बढिरहेको इटालीले सेमिफाइनलमा स्पेनसँग खेल्दैछ । तीनपटकको युरो विजेता स्पेन पनि यसपटक आफूलाई उपाधि दाबेदारका रुपमा अघि बढाइरहेको टीम हो । क्रोएसियालाई ५-३ ले पाखा लगाएको स्पेन क्वाटरफाइनलमा स्विजरल्यान्डलाई पेनाल्टीमा हराउँदै सेमिफाइनल पुगेको हो ।

फ्रान्सलाई हराएर सनसनीपूर्ण रुपमा क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्डको यात्रामा ब्रेक लगाएको स्पेनले अपराजित खेलको कीर्तिमानका साथ उपाधि उचाल्ने धुनमा रहेको इटालीको यात्रामा ब्रेक लगाउला वा आफैं पराजित भएर घर फर्केला त्यसका लागि भने युरे २०२० को पहिलो सेमिफाइनलसम्म कुर्नैपर्नेछ ।

इंग्लिस टीमको घरेलु मैदानमा फर्किएको सान
विश्व फुटबलमा एक समय सधै उपाधि दाबेदार मानिने इंग्ल्यान्डलाई पछिल्लो दशकमा धेरैले ‘स्टार खेलाडीले भरिएको कमजोर टीम’ का रुपमा चित्रित गर्थे । सन् २०१८ को विश्वकपमा उसले पुन: आफुलाई उपाधि दाबेदारको छविमा फर्कायो । यो छवि उसले युरो २०२० मा अझ उजिल्याइरहेको छ ।

युक्रेनमाथि प्रभावशाली जीत निकालेपछि घरेलु मैदानमा इंग्ल्यान्ड फाइनल पुग्ने चर्चा बलियो छ । सेमिफाइनल र फाइनल खेलहरु लन्डनस्थित वेम्बली रंगशालामा हुने भएकाले पनि घरेलु मैदान र दर्शकको ‘एडभान्टेज’ इंग्ल्यान्डलाई हुनेछ । जहाँ उसको स्वभाविक राम्रो लय हुने अपेक्षा गरिएको छ ।

ग्यारेथ साउथगेटको टोलीले जारी प्रतियोगितामा पाँच खेलमा कुनै पनि गोल नखानु उसको दाबी थप बलियो भएको प्रमाण हो । इंग्ल्यान्डको इतिहासमै ६६२ मिनेट गोल नखाएको यो पहिलो अवसर पनि हो । बुधबार डेनमार्कसँग खेल्दा पुन एकपटक क्लिनसिट राख्ने उसको लक्ष्य हुनेछ । त्यसो त प्रशिक्षक साउथगेट इंग्ल्यान्डलाई विश्वकप र युरोकपमा लगातार अन्तिम चारमा पुर्‍याउने दोस्रो प्रशिक्षक बनेका छन् । उनी अघि १९६६ र १९६८ मा यो उपलब्धि अल्फ राम्सीको नाममा थियो ।

बलियो डिफेन्ससँगै अहिले फर्वाडको रवाफिलो प्रदर्शनले इंग्ल्यान्ड विपक्षी टीमविरुद्ध निरन्तर गोल वर्षा गर्न सफल भएको छ । २५ वर्षपछि सेमिफाइनल पुग्ने क्रममा युक्रेन माथि ४-० को जित फर्वाडको क्लिन फिनिसिङ्बाटै सम्भव भयो । रहिम स्ट्रलिङ र कप्तान ह्यारी केनको लय राम्रोसँग जमेको छ । युक्रेनसँगको खेलमा पहिलो गोलका लागि केनलाई स्ट्रलिङले मिलाईदिएको पास निकै उत्कृष्ट थियो । रहिम पछिल्ला २१ खेलमा २२ गोलमा प्रत्यक्ष संलग्न छन् । जहाँ उनले १५ गोल गरेका छन् भने ७ गोलमा असिस्ट गरेका छन् । त्यस्तै केन २६ खेलमा २७ गोलमा प्रत्यक्ष संग्लन छन् । उनले १८ गोल गर्दा ९ असिस्ट गरेका छन् । यो साझेदारीसँगै अरु खेलाडीको उच्च फर्म पनि इंग्ल्यान्डलाई उपाधि दाबेदारका रुपमा उभ्याउने बलियो आधार हो ।

त्यसैगरी ५ खेलसम्म गोल नखाएका गोलरक्षक जोर्डन पिकफोर्ड पनि इंग्लिस टीमको लागि ‘लक्की’ सावित हुँदै आएका छन् । एकै प्रतियोगितामा ५ खेलसम्म गोल नखाने पिकफर्ड केवल एक्लो गोलरक्षकका रुपमा समेत रहन सफल भए । त्यसैले यसपटक इंग्ल्यान्डपनि मुख्य दाबेदारका रुपमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *