घरेलु मैदानमा फर्किएको इंग्लिस टीमको सान

काठमाडौं । विश्व फुटबलमा एक समय सधै उपाधि दाबेदार मानिने इंग्ल्यान्डलाई पछिल्लो दशकमा धेरैले ‘स्टार खेलाडीले भरिएको कमजोर टीम’ का रुपमा चित्रित गर्थे । सन् २०१८ को विश्वकपमा उसले पुन: आफुलाई उपाधि दाबेदारको छविमा फर्कायो । यो छवि उसले युरो २०२० मा अझ उजिल्याइरहेको छ ।

युक्रेनमाथि प्रभावशाली जीत निकालेपछि घरेलु मैदानमा इंग्ल्यान्ड फाइनल पुग्ने चर्चा बलियो छ । सेमिफाइनल र फाइनल खेलहरु लन्डनस्थित वेम्बली रंगशालामा हुने भएकाले पनि घरेलु मैदान र दर्शकको ‘एडभान्टेज’ इंग्ल्यान्डलाई हुनेछ । जहाँ उसको स्वभाविक राम्रो लय हुने अपेक्षा गरिएको छ ।

ग्यारेथ साउथगेटको टोलीले जारी प्रतियोगितामा पाँच खेलमा कुनै पनि गोल नखानु उसको दाबी थप बलियो भएको प्रमाण हो । इंग्ल्यान्डको इतिहासमै ६६२ मिनेट गोल नखाएको यो पहिलो अवसर पनि हो । बुधबार डेनमार्कसँग खेल्दा पुन एकपटक क्लिनसिट राख्ने उसको लक्ष्य हुनेछ । त्यसो त प्रशिक्षक साउथगेट इंग्ल्यान्डलाई विश्वकप र युरोकपमा लगातार अन्तिम चारमा पुर्‍याउने दोस्रो प्रशिक्षक बनेका छन् । उनी अघि १९६६ र १९६८ मा यो उपलब्धि अल्फ राम्सीको नाममा थियो ।

बलियो डिफेन्ससँगै अहिले फर्वाडको रवाफिलो प्रदर्शनले इंग्ल्यान्ड विपक्षी टीमविरुद्ध निरन्तर गोल वर्षा गर्न सफल भएको छ । २५ वर्षपछि सेमिफाइनल पुग्ने क्रममा युक्रेन माथि ४-० को जित फर्वाडको क्लिन फिनिसिङ्बाटै सम्भव भयो । रहिम स्ट्रलिङ र कप्तान ह्यारी केनको लय राम्रोसँग जमेको छ । युक्रेनसँगको खेलमा पहिलो गोलका लागि केनलाई स्ट्रलिङले मिलाईदिएको पास निकै उत्कृष्ट थियो । रहिम पछिल्ला २१ खेलमा २२ गोलमा प्रत्यक्ष संलग्न छन् । जहाँ उनले १५ गोल गरेका छन् भने ७ गोलमा असिस्ट गरेका छन् । त्यस्तै केन २६ खेलमा २७ गोलमा प्रत्यक्ष संग्लन छन् । उनले १८ गोल गर्दा ९ असिस्ट गरेका छन् । यो साझेदारीसँगै अरु खेलाडीको उच्च फर्म पनि इंग्ल्यान्डलाई उपाधि दाबेदारका रुपमा उभ्याउने बलियो आधार हो ।

त्यसैगरी ५ खेलसम्म गोल नखाएका गोलरक्षक जोर्डन पिकफोर्ड पनि इंग्लिस टीमको लागि ‘लक्की’ सावित हुँदै आएका छन् । एकै प्रतियोगितामा ५ खेलसम्म गोल नखाने पिकफर्ड केवल एक्लो गोलरक्षकका रुपमा समेत रहन सफल भए । त्यसैले यसपटक इंग्ल्यान्डपनि मुख्य दाबेदारका रुपमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *