दोषीलाई कारबाही गर्दै कमला पुल पुनर्निर्माण गर्न माग

जनकपुरधाम । सञ्चालनमा नआउँदै कमला नदीको पुल भत्किएपछि छानबि गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । सामान्य बाढीले नै पुल भत्किएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग गरिएको हो ।

आइतबार कमला जालधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका अध्यक्ष विक्रम यादव र सचिव विनोद महराको नेतृत्वमा पुगेका टोलीले प्रधानमन्त्रीलाई ध्यानकर्षण हुने गरी बुझाइएको ज्ञापनपत्रमा पुलको गुणस्तर तथा डिजाइनको उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । पुल नभएर जनतालाई निकै सास्ती भएको भन्दै पुनर्निर्माण पनि तुरुन्तै गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो पनि : सञ्चालनमा नआउँदै भासियो पुल, छानबिन गर्न माग

पुल निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीहरु पप्पु-लुम्बिनी बिल्डर्स जेभीलाई कानुनी दायरामा ल्याउन पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ । नदी कम फराकिलो रहेको ठाउँ पूर्वपश्चिम राजमार्गमा ठूलो पुल (६४० मिटर) रहेको छ । तर नदी बढी फराकिलो भएको ठाउँ हुलाकी सडकमा सानो (४७० मिटर)को पुल मात्र बनाउँदा भासिएको ज्ञापनपत्रमा उल्लेख छ ।

चार सय ७० मिटर पुल निर्माणका लागि २०६८ जेठमै पप्पु-लुम्बिनी बिल्डर्स जेभीले ठेक्का पाएको थियो । सुरुमा पप्पुले मात्रै काम गरेको थियो । करिब ३५ प्रतिशत काम सम्पन्न भएपछि पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो । सुरुको सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने पुल झण्डै १० वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको थियो । तर सञ्चालन नहुदै भत्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *