सञ्चालनमा नआउँदै भासियो पुल, छानबिन गर्न माग

जनकपुरधाम । उद्घाटनको पर्खाइमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भत्किएको छ । करिब करिब निर्माण सम्पन्न भएको यो पुल ‘उपयुक्त समय मिलाएर’ छिट्टै उद्घाटन गरी सञ्चालन गर्ने तयारी भइरहेकै बेला भत्किएको हो । १३ वटा पाया र १२ स्पान (स्ल्याब) सहित निर्माण भइरहेको कमला पुलको सिरहा नगरपालिका–६ बसपिट्टातर्फको दोस्रो पाया करिब तीन मिटर जति भासिएको हो ।

केही दिनदेखिको वर्षाका कारण कमला नदीमा जलस्तर बढेपनि पुल नै भत्किने गरी बाढी नआएको स्थानीयबासिन्दाको भनाइ छ । सामान्य बाढीलाई समेत थेग्न नसकेर पुल भत्किएपछि सम्भावित ठूलो दूर्घटनाबाट जोगिएको उनीहरुले बताएका छन् । पुल सञ्चालनमा आइसकेपछि भत्किएको भए ठूलो दुर्घटना हुनसक्ने उनीहरुको भनाइ छ ।

४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु लुम्बिनी बिल्डर्स जेभीसँग सम्झौता भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुदयेश त्रिपाठीले २०६८ जेठ ३१ मा यो पुलको शिलान्यास गरेका थिए ।

४७० मिटर लामो यो पुलको पूर्वतर्फको २ नम्बरको पिलर भाँसिएपछि पुलमा आवतजावत बन्द भएको छ भने पुल सञ्चालनमा नआउँदै भत्किएपछि सर्वसाधारण फेरि निराश बनेका छन् ।

२४ करोड ६२ लाख रुपैयाँ लागत रहेको यो पुल निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि पप्पुले ढिलाई गरेपछि पछिल्लो समय पुल निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।

सम्झौताअनुसार ०७१ मंसिर ३० सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने कमला पुल ढिलाइ र बेवास्ताकै कारण १० वर्षदेखि ‘निर्माणाधीन’ अवस्थामै छ । पछिल्लो सयम दुई पटक म्याद थपिदाँ पुल निर्माण करिब करिब ९५ प्रतिशत काम पूरा भएको थियो ।

प्रधानमन्त्री केपी ओली ०७५ माघमा सिरहा आउँदा कमला नदीको पुल ०७७ बैशाखमै उद्घाटन गरिने प्रतिबद्धतासमेत जनाएका थिए ।

हुलाकी राजमार्गमा पर्ने कमला नदीको पुल हुँदै धनुषा सदरमुकाम जनकपुरधामबाट सिरहा सदरमुकाम सिरहासम्म ३२ किलोमिटर मै पुगिन्छ । तर कमला नदीमा पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग प्रयोग गरी झन्डै ८५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ ।

गृह मन्त्रालय र सतर्कता केन्द्रलाई पत्राचार
पानीको सामान्य बहावले पुल भासिएपछि गुणस्तर छानबिन गरी कारबाही अगाडि बढाउन राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयलाई पत्राचार गरिएको छ ।

निर्माण कम्पनीले गलत डिजाइन वा डिजाइनविपरीत काम गरेको हुनसक्ने सम्भावना देखिएकोले राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयलाई पत्र लेखेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

कारबाहीको माग
सञ्चालनमा नआउँदै कमला नदीको पुल भत्किएपछि कारबाहीका लागि आवाज उठ्न थालिएको छ । धनुषाबाट प्रतिनिधित्व गर्ने सांसद तथा पूर्वमन्त्रीहरुले सञ्चालनमा नआउँदै पुल भत्किनुको कारण तथा पुल निर्माणको क्रममा भएको लापरवाही माथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

पूर्वमन्त्री मातृकाप्रसाद यादवले सञ्चालनमा नआउँदै र निर्माण सम्पन्न नहुँदै पुल भत्किनुले सरकार तथा ठेकेदारको लापरवाही र गैरजिम्मेवारीपन देखिएको बताए । यादवले मकालु खबरसँग भने,— ‘हुलाकी राजमार्ग राष्ट्रिय महत्वको योजना हो, सो अन्तर्गतको रहेको कमला नदीको पुल स्थानीय स्तरको हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यसको निर्माणमा के–कस्तो त्रुटी भएको हो तुरुन्त छानबिन होस् र दोषी ठेकेदार, कर्मचारी तथा पर्दा पछाडीका नेताहरु समेतलाई कारबाही गरिनुपर्छ ।’

निवर्तमान मन्त्री उमाशंकर अरगरीयाले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने उक्त पुलबारे छानबिन गरि दोषीलाई कारबाहीका लागि आफूले विशेष ध्यान दिइरहेको बताए । मकालुखबरसँग उनले भने— ‘मैले यस विषयमा सरकारी निकायसँग कुरा गरेको छु, छानबिन समितिसमेत बनिसकेको छ, छिट्टै दोषीमाथी कारबाही हुन्छ ।’ वर्षायाम सम्पन्न भएपछि तुरुन्त उक्त पुलको निर्माण कार्य अगाडि बढाउनसमेत उनले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *