प्रधानमन्त्रीले आज उद्घाटन गर्ने माथिल्लो तामाकोसीकाे नालीबेली

काठमाडौं । निर्माण सम्पन्न भएको बहुप्रतिक्षति राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल कार्यक्रममा बालुवाटारबाटै स्वीच थिचेर आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजनाको ७६ मेगावाटको पहिलो युनिटलाई राष्ट्रिय प्रसारणमा जोडेर सोमबारबाट परीक्षण उत्पादन गरिने भएको हो । एउटा एउटा गरी ७६/७६ मेगावाटका ६ ओटै युनिटलाई यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको आयोजनाले जनाएको छ ।

आयोजनालाई २२० केभिको गोंगर–खिम्ती प्रशारणलाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने छ । माथिल्लो तामाकोसी पूर्ण सञ्चालनमा आएपछि तत्कालका केही वर्ष नेपाललाई वर्षायाममा विद्युत् बढी हुने आकलन नेपाल विद्युत् प्राधिकरणले गरेको छ । नेपाललाई बढी भएको बेलाको विद्युत् आवश्यक परेका बेला लिने गरी भारतमा बैकिङ गर्न सकिने व्यवस्था पनि प्राधिकरणले भारतीय पक्षसँग गरेको छ । त्यस्तै, भारतमा बिक्री गर्न र भारतीय बजारबाट विद्युत् खरिद गर्न सकिने नीतिगत व्यवस्था समेत भइसकेको छ । यसले खेर जाने र अपुग हुने चिन्ता नरहेको प्राधिकरणले बताउँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ ।

‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकोले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गर्न लागिएकाे हाे,’ शाक्यले भने, ‘यसका लागि आवश्यक प्रवन्ध गरिसकेका छौं ।’

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ । सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउने छ ।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो । यो स्वदेशी लगानीमै निर्माण भएको नेपालकै ठूलो राष्ट्रिय गौरवको पहिलो जलविद्युत् आयोजना हो ।

यो आयोजना २०७१ साल अर्थात् ५ वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । तर लक्षित समयभन्दा ६ वर्ष ढिला गरी कुल ११ वर्षमा आयोजना निर्माण सम्पन्न भएको हो । तामाकोसीमा सुरु लगानी ब्याजबाहेक ३५ अर्ब र ब्याजसहित ४९ अर्ब भएकोमा अहिले बढेर ब्याजसहित ८७ अर्ब पुगेको छ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरु, स्थानीय बासिन्दालगायत सबैको प्रयास र सहयोगमा आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेको भन्दै प्राधिकरणले खुसी व्यक्त गरेको छ ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *