एमाले विवाद

संस्थापन पक्षको प्रस्तावमा नेपाल प्रतिक्रियाविहीन

काठमाडौं । एमालेको संस्थापन पक्षले गरेको प्रस्तावमा इतर एमाले प्रतिक्रियाविहीन भएको छ । आइतबार (आज) बिहान संस्थापन पक्षका नेताहरु सुवासचन्द्र नेम्वाङ्ग, विष्णु पौडेल र शंकर पोखरेल एकताको अन्तिम प्रयास भन्दै नेपालनिवास कोटेश्वर पुगेका थिए । नेताहरुले गरेको प्रस्तावमा नेता नेपाललगायतका नेताहरुले प्रतिक्रिया जनाएनन् । ‘हामीले मिलेर जाऔँ । दुई नेता (अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल) मिल्नुस्, वार्ता गर्नुस् भन्यौँ । उताबाट प्रतिक्रिया आएन,’ नेता सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भनेका छन् । योसँगै संस्थापन पक्षले विपक्षी एमालेलाई सत्तापक्षीय एमालेमा फर्काउन असफल भएको रुपमा बुझेको छ ।

तीन नेताले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ताको आग्रहसँगै मिल्नुको विकल्प नरहेको बताएका थिए । तीन नेताले ‘तपाईं गठबन्धनबाट फर्किनुभयो भने तपाईंकैअनुसार अघि बढौँ’ भनेका थिए । जवाफमा विपक्षी एमालेको दोस्रो तहका नेताहरुले ‘तपाईंहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छौँ’ भनेर बताएका थिए ।

दुवै एमालेका दोस्रो तहका नेताहरु अहिले दुई नेता (ओली—नेपाल) मिले समस्याको समाधान हुने विश्वासमा छन् । नेता नेम्वाङ्गले भने— ‘दुई नेता मिल्ने हो भने सबै समस्या समाधान हुने भन्नेमा हामी छौँ ।’ स्रोतकाअनुसार नेता नेम्वाङ्गसँगै विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु एकताको पक्षमा छन् भने अध्यक्ष ओलीसँगै विष्णु रिमाललगायतका नेताहरु ‘जे हुन्छ, त्यही टर्छ’को भावमा छन् ।

नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको एक नेताले बताए । भने— ‘पछिल्लो कदम तथा निर्णय पनि जालझेलपूर्ण नै भयो भन्ने उहाँको रिडिङ्ग हो ।’

नेता नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि अध्यक्ष ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् ।

यसअघि बालुवाटारमा बसेको संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले विपक्षी एमालेलाई दुईदिनभित्र सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । तर, विपक्षी एमालेले हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । नेता बेदुराम भुसालले भने— ‘जालझेलपूर्ण निर्णय हामी मान्दैनौँ । अहिल्यै हस्ताक्षर फिर्ता हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *