टिकिटाकाले टिकाउला स्पेनलाई कि स्विट्जरल्यान्डले बनाउला इतिहास ?

काठमाडौं । युरो २०२० को पहिलो क्वाटरफाइनलमा शुक्रबार राति ९:४५ मा स्पेन र स्विट्जरल्यान्ड खेल्दैछन् । युरोपियन च्याम्पियनसीपको इतिहासमै यी दुई टीम पहिलोपटक खेल्दैछन् ।

स्पेन पुन: एकपटक आफ्नो दबदबा कायम गर्ने ध्याउन्नमा रहँदा स्वीट्जरल्यान्ड यसपटक इतिहास बनाउन मैदान उत्रनेछ । स्पेनलाई हराउन सके, पाँचौंपटक युरोकप खेलिरहेको स्वीट्जरल्यान्ड पहिलोपटक ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

सन् १९९६ मा पहिलोपटक युरोकप खेलेको स्वीट्जरल्यान्डले गत संस्करणमा मात्र पहिलो चरण पार गरेको थियो । स्वीट्जरल्यान्ड विश्वकपमा पनि क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । विश्वकप ११ पटक खेलेको स्वीट्जरल्यान्ड पछिल्ला लगातार दुई संस्करणमा प्रि-क्वाटरफाइनलसम्म पुगेको थियो ।

जारी युरो २०२० मा स्विट्जरल्यान्डको सुरुवात राम्रो थिएन । समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको उसले दोस्रो खेलमा इटालीसँग ३-० को हार व्यहोरेको थियो । तर, तेस्रो खेलमा टर्कीलाई ३-१ ले हराउँदै स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएको थियो ।

यद्यपि अन्तिम १६ मा स्वीट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई हराएर सनसनी मच्चाउँदै क्वाटरफाइनलमा पुगेको हो । ८० मिनेटसम्म ३-१ ले पछि रहेको खेलमा नाटकीय पुनरागमन गर्दै स्वीट्जरल्यान्डले ८१ र ९० ‍औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुर्‍याएको थियो ।

यो पटक स्वीस स्ट्राइकर ह्यारिस सेफेरोभिच लयमा देखिएका छन् । उनले प्रतियोगितामा ३ गोल गरेका छन् । फ्रान्सविरुद्ध सुरुका दुई गोल गरेका उनी स्पेनसँगको खेलमा पनि सोही लयको प्रतीक्षामा हुनेछन् ।

यद्यपि स्पेनलाई हराउने सपना पूरा गर्न स्वीस टोलीलाई सहज भने हुने छैन । स्पेन युरोकप सर्वाधिक जित्ने दुईमध्ये एक टोली हो । युरो २०१२ जितेयता पहिलोपटक क्वाटरफाइनल पुगेको स्पेनले पछिल्ला दुई खेलमा १० गोल गर्दै सनसनी मच्चाएको छ । उसो त स्पेनको खेल शैली आफ्नै पाराको छ । विश्वभरि यसलाई टिकिटाका भनेर चिनिन्छ ।

एउटा ‘स्वर्ण टिम’लाई बिदाइ गरेर बनेको अहिलेको तरुण टीम पनि स्पेनको त्यहि लयलाई समात्दै अघि बढेको छ । खेल राम्रो खेले पनि गोल गर्न चुक्ने गरेको आरोप गलत सावित गर्दै स्पेनले क्रोएसियाजस्तो बलियो टिमविरुद्ध ५ गोल गर्‍यो । यो स्पेनका लागि हौसला हो । त्यसो त फ्रान्सलाई हराउँदा स्वीट्जरल्यान्डले पनि कम हौसला पाएको छैन । त्यसैले पनि शुक्रबार रातिको यो भेट प्रतिस्पर्धी हुने लख काट्न सकिन्छ । टिकिटाकाले स्पेनलाई टिकाउला वा इतिहास बनाउँदै स्विजरल्यान्ड अघि बढ्ला‚ त्यसको छिनोफानो गर्नका लागि भने खेल कुर्नुको विकल्प छैन ।

तथ्य तथ्याङ्क
स्वीटजरल्यान्डसँग खेलेका सबै खालका गरी २२ खेलमा स्पेन केवल एक खेलमा मात्र पराजित भएको छ ।

स्पेन र स्विटजरल्यान्डबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक सन् २०१० को विश्वकपको समूह चरणमा भेट भएको थियो । उक्त खेलमा स्पेन स्वीटजरल्यान्डसँग १-० ले पराजित भएपनि २०१० को विश्वकप भने स्पेनले नै जितेको थियो ।

यी दुई टोलीबीच युरोमा पहिलोपटक भेट हुन लागेको हो । विश्वकपमा भने यी दुई टीम सन् १९६६, १९९४ र २०१० मा एक अर्कासँग खेलिसकेका छन् । जहाँ सुरुवातका दुई खेलमा स्पेन र पछिल्लो एक खेलमा स्वीट्जरल्यान्ड विजयी भएको इतिहास छ ।

Euro 2020 Quarter Finals: The Combined XI Of Spain Vs Switzerland

विश्वकपमा तीनपटक क्वाटरफाइनल पुगेको स्वीट्जरल्यान्ड युरोपियन च्याम्पियनसिपमा भने पहिलोपटक अन्तिम ८ मा अटाएको हो ।

स्पेन युरोपियन च्याम्पियनसीपमा लगातार दुई टीमविरुद्ध ५ वा सोभन्दा बढी गोल गर्ने एक्लो टीम हो । उसले यसअघिका ४२ खेलमा ४ भन्दा बढी स्कोर गर्न सकेको थिएन ।

जारी प्रतियोगितामा स्पेनले ७३.४ प्रतिशत बल पोसेसन कायम राखेको छ । जसमा उसको ८९.५ प्रतिशत बल पास सफल भएको छ । यी दुवै स्पेनका लागि १९८० पछिको कीर्तिमान हो ।

फेरान टोरेसले खेलेका ९ खेलमा स्पेनको ८ गोलमा उनी प्रत्यक्ष संलग्न छन् । जहाँ उनले ७ गोल गरे भने १ गोलमा असिस्ट गरेका छन् । उनले प्रतियोगिताका पछिल्ला दुई खेलमा लगातार गोल गरेका छन् । तर अहिलेसम्म कुनैपनि स्पेनी खेलाडीले च्याम्पियनसीपमा लगातार ३ खेलमा गोल गर्न सकेका छैनन् । आज पनि गोल गरे उनले यो कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *