दाबेदारको दाबी नकआउटमै सीमित

काठमाडौं । युरो कप २०२० मा समूहचरणदेखि क्वाटरफाइनलसम्म पुग्दा प्रतियोगिता अनपेक्षित र रोचक हुँदै गएको छ । क्वाटरफाइनलसम्म पुग्दा धेरैका अनुमानहरू फेल खाइसकेका छन् ।

युरोपियन टीमको विशेषता नै जसले जसलाई पनि हराउने सामर्थ्य राख्छन् । परिणामतः प्रतियोगिता रोचक हुने गरेको छ । जारी युरोमा पनि सोही अवस्था देखियो । उपाधिमा एकछत्र राज गर्दै आएका र सधैँ दाबेदारका छवि बनाएका टीम‚ जसले यो पटक नकआउटमा नै आफ्नो यात्रा अन्त्य गर्न बाध्य भए । अनपेक्षित रुपमा कम आकलन गरिएका टीमको वर्चस्व क्वाटरफाइनलमा समेत देखिएको छ ।

हेरौं यो पटक नकआउटबाट बाहिरिएका दाबेदार टीम

पोर्चुगल
साविक च्याम्पियन पोर्चुगल जारी युरोकपमा भने नकआउट चरणभन्दा अघि जान सकेन । तुलनात्मक रुपमा उपाधि दाबेदार बेल्जियमसँग १-० ले पराजित हुँदा पोर्चुगलको यात्रा नकआउटमा सीमित रह्यो । बेल्जियमका लागि इडन हजार्डका भाइ थोर्गन हजार्डले डिबक्स बाहिरबाट गरेको एकमात्र गोल साविक च्याम्पियनलाई प्रतियोगिताबाट घर पठाउन पर्याप्त रह्यो ।

जारी सिजन युरोपियन च्याम्पियनसिपमा धेरै रेकर्ड बनाएका स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्न केवल एक गोलबाट टाढा रहे । यद्यपि उनी मुख्य प्रतियोगितामा युरोपको सर्वाधिक गोलकर्ता बने भने युरोपियन च्याम्पियनसिपमा लगातार पाँचपटक प्रतिस्पर्धा गर्ने एक्लो खेलाडी बनेका थिए । समूहचरणमा रोनाल्डो प्रेरित पोर्चुगल नकआउटमा कुनै जादु चलाउन असफल भएको थियो ।

नेदरल्यान्ड
डच टीम युरोपको अभागी टीमका रुपमा परिचित छ । पटक-पटक उत्कृष्ट प्रदर्शनका बाबजुद नेदरल्यान्ड मुख्य उपाधिबाट भने वञ्चित रहेको छ । फिफा विश्वकपमा तीनपटक उपविजेता बनेको नेदरल्यान्ड पछिल्लो पटक २०१० मा उपाधि होडमा स्पेनसँग पराजित भएको थियो ।

युरोपियन च्याम्पियनसिपमा भने १९८८ मा एकपटक च्याम्पियन बनेको थियो । त्यसयता तीनपटक सेमिफाइनल पुगेपनि २००४ यता पहिलो पटक नकआउटमा पुगेको थियो । तर अप्रत्याशित रुपमा कमजोर मानिएको चेक रिपब्लिकसँग २-० नेदरल्यान्ड पराजित भयो ।

क्रोएसिया
क्रोएसियाले युरोपियन फुटबलमा आफूलाई जबर्जस्त स्थापित गरेको छ । २०१८ को विश्वकपको उपविजेता बनेको क्रोएसिया युरो २०२० मा पनि दाबेदार मानिएको थियो ।

यद्यपि क्रोएसियाले समूहचरणबाट नकआउटमा पुग्दा स्पेनसँगको भेट तय भयो । जसले गर्दा दुई दाबेदारमा एक बाहिरिने निश्चित थियो । क्रोएसिया लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको नकआउटबाट बाहिरियो । क्रोएसिया २०१६ मा पनि नकआउटबाटै बाहिरिएको थियो ।

फ्रान्स
विश्व विजेता फ्रान्स जारी युरोको उपाधि दाबेदारमा बलियो मानिएको थियो । स्टार खेलाडीले भरिएको फ्रान्स अनपेक्षित रुपमा नकआउटचरणबाटै बाहिरिने अर्को दाबेदार बन्यो । स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै फ्रान्सको जारी युरो २०२० को यात्रा पनि नकआउटमा नै सीमित रह्यो । २०१६ को उपविजेता फ्रान्सले २०१८ को विश्वकप उपाधि जितेको थियो ।

नकआउट चरणमा स्विटजरल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गरेपनि अग्रता जोगाउन असफल हुँदा युरो गुमाउन फ्रान्स बाध्य भयो । करिम बेन्जामाको २ गोलको मद्दतमा ३-१ को अग्रता बनाएको फ्रान्स अन्तिम ९ मिनेट समालिन नसक्दा लगातार दुई गोल खान पुगेको थियो ।

त्यसपछि अतिरिक्त समयमा दुवैतर्फबाट गोल नहुँदा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जहाँ स्विटजरल्यान्डले ५-४ को बाजी मार्‍यो ।

जर्मनी
उपाधिमा सधैँको दाबेदार जर्मनी नकआउट चरणमा इंग्ल्यान्डसँग पराजित हुँदै युरो २०२० बाट बिदा भयो । ४ पटकको विश्व विजेता जर्मनीले १९६६ पछि पहिलो पटक इंग्ल्यान्डसँग मुख्य प्रतियोगिताको नकआउटमा पराजय भोग्यो ।

Belgium vs Portugal, England vs Germany & Isku aadka wareegga 16-ka  tartanka Euro 2020 oo dhammaystiran – Gool FM

म्यानचेस्टर सिटीका स्टार रहिम स्ट्रलिङको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले अन्तिम समयमा दुई गोल सम्भव बनाएको थियो । स्ट्रलिङ र कप्तान हेरी केनले समान १-१ गोल गरेका थिए । तीन पटकको युरोपियन च्याम्पियनसिप विजेता जर्मनी १९९६ पछि उपाधिविहीन छ । जसको खडेरी टार्न यो पटक पनि जर्मनी असफल भयो । २००८ मा उपविजेता बनेको जर्मनी त्यसपछि २०१२ र २०१६ मा पनि सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *