कविता महोत्सव र विवादका कुरा

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव-२०७८ सम्पन्न भएको छ । यस पटकको कविता प्रतियोगितामा महिलाको वर्चस्व रह्यो । पुरस्कृत पाँचमा चारजना महिला रहे । भोजपुरकी कविता राईको कविता ‘देशको नक्सा’ कविता प्रथम भयो । धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ दोस्रो भयो भने बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्त्वको खोप’ कविता संयुक्त रुपमा तेस्रो स्थानमा रहे । प्रज्ञाले हरेक वर्ष पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार र सम्मान पत्र सहित सम्मान गर्ने गरेको छ ।

‘नेपाली साहित्यको श्रीवृद्धिका लागि’ क्रियाशील निकाय प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्ने प्रतियोगता भएपनि राष्ट्रिय कविता महोत्सव विवादमुक्त हुन सकेको छैन । कहिले कमजोर कविता पुरस्कृत भए भनेर होस् वा कहिले आस्थाका आधारमा पुरस्कार भागबण्डा गरियो भनेर बर्षेनि प्रश्न र विवाद भइरहन्छ ।

उसो त प्रतियोगिता भन्नासाथ विवाद जोडिएर आउनु सामान्य जस्तै भइसकेको छ । अपितु प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगितामा राजनीति जोडिनु र प्रश्न उठ्नु गम्भीर विषय हो । यसपटकका कविताहरुमा कविताको गुणस्तरभन्दा पनि आस्थालाई हेरिएको गाइँगुइँ चल्यो । पहिलो भएकी कवि राई नेकपा एमाले निकट शिक्षक संगठनमा आवद्ध रहेको दोस्रो भएकी कवि कांग्रेस निकट रहेको खुल्यो । एवम् रितले अरु कविहरुपनि राजनीतिक रंग देखिएको भन्दै आलोचकहरुले प्रश्न उठाए ।

साहित्य समालोचक राजकुमार बानियाँ यसपटक विजेताको समूहमा एक मात्र पुरुष पर्नुलाई ‘कोटा’ झैँ राखिएको बताउँछन् । उनलाई प्रज्ञाले गरिरहेको कविता महोत्सव फिटिक्कै मन परेको छैन । राजा महेन्द्रले २०२३ सालमा कविता महोत्सव नयाँ कविहरूको लागि अवसरको बाटो बनाउनु सुरु गरेका हुन् ।

तर अहिले प्रतियोगितामा सहभागी हुने व्यक्तिहरू पुराना र नाम कमाइ सकेका समेत रहने गरेका छन् । नयाँ प्रतिभालाई स्थापित गराउने चिनाउने मञ्च बनेर सुरु गरिएको कविता महोत्सवमा अहिले आएर अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । पहिला कविता उत्सव हुँदा नयाँ कवि र राम्रो कविता सुन्न पाइन्थ्यो भने अहिले महोत्सव बने सँगै प्रतियोगी घटेका छन् । साथै कविताको गुणस्तर समेत कम हुँदै गएको छ । अझ राजनीतिक संरक्षण दिएर आफ्ना पार्टीको मान्छेलाई विजेता बनाउने प्रचलन पनि बढेको छ ।

कविता छान्ने क्रममा बेथितिको पराकाष्ठा भएको बानियाँ बताउँछन् । वर्ष ७७ को कुरा गर्दा त उत्कृष्ट ३० मा परेका व्यक्तिमध्ये ५ जनाको क्रमसङ्ख्या समेत निरन्तर रहेको देखिन्छ । प्रतियोगितामा पारदर्शिता नहुने र सुनियोजित ढङ्गले विजेताको नाम छनौट गर्ने गरिन्छ । यस वर्ष पनि एकजना पुरुषलाई आरक्षणका लागि राखे झैँ देखिन्छ । नयाँ प्रतिभा भित्र्याउने मञ्च भए पछि त ४० काटेका व्यक्ति, अनुभव धेरै सङालेका व्यक्तिलाई भन्दा पनि नयाँलाई प्राथमिकता दिनुपर्ने हैन र ? भन्ने लाग्छ बनियालाई ।

बढीमा ३० वर्षसम्मका व्यक्तिलाई मात्रै सहभागी गराउन सके राम्रो भन्छन् उनी । पुरस्कारमा पाउने रकमको लोभमा ६० वर्ष सम्मका मानिस पनि कविता लिएर प्रज्ञा पुग्ने गरेकाले नयाँ पुस्तालाई प्रोत्साहन गर्ने कुरासँग तारतम्य नमिलेको उनको ठम्याइ छ । महोत्सवको इतिहास लामो भएकोले बन्द गर्ने भन्दा पनि व्यवस्थित गर्नुपर्ने जरुरी देख्छन् उनी । यो महोत्सवलाई आकर्षक प्रतियोगिताको रूप दिँदै जानु पर्नेमा अझ घट्दो क्रममा रहेको छ । आफ्ना मान्छेलाई नै पुरस्कार दिनु पर्ने परिपाटी बढिरहेको छ । विरोध भन्दा पनि नयाँ पुस्तलाई प्रोत्साहन गर्न सक्नु पर्ने हो ।

कविताको महत्त्व घट्दै गएको यो परिप्रेक्षकमा नयाँ प्रतिभालाई अगाडि ल्याउन प्रज्ञा प्रतिष्ठानले नै थालनी गर्नु पर्ने हो । सरकारी संस्थानले गरेको यस्ता महोत्सवहरू प्रतिको आकर्षण घटिरहेको र पारदर्शी नभएको देखिँदै आइएको छ । व्यवस्थापन गर्ने काम प्रज्ञाकै भएको कारण यस तर्फ ध्यान दिनु जरुरी छ ।

कविताको विषय छनौटमा समेत भिन्न प्रयास गर्नु पर्ने हुन्छ । जहिल्यै पनि राष्ट्रियता, राष्ट्रवादको विषय उठाउँदै गर्दा लेख्ने व्यक्तिमा निराशा आउँछ भने पढ्ने व्यक्ति पनि उत्साहित हुँदैनन् । नयाँ विषयमा लेख्ने परिपाटी हराउछ र जागर पनि मर्छ । बानिया भन्छन् ‘विषयमा विविधता नभएका कारण पनि यो महोत्सवको महत्त्व कम हुँदै गएको छ । प्रज्ञाको काम गर्ने तरिका पुरानै भएकोले पहिला त यो संस्था नै सच्चिन जरुरी छ ।’

उन्मुक्त पुस्तका कवि प्रकाश गुरागाईँलाई कुनै सिर्जनाको प्रतियोगिता गर्नु नै गलत हो भन्ने लाग्छ । ‘भूपी शेरचनका कविता राम्रा कि गोपालप्रसाद रिमालका कविता राम्रा भनेर प्रतियोगिता गराउनुको कुनै तुक हुँदैन’ उनी भन्छन्, ‘सिर्जना माथिका प्रतियोगिता यस्तै नै हुन् ।’

प्रज्ञाले गर्ने यस्ता प्रतियोगितामा निर्णायक नै राजनीतिक भागबन्डाका आधारमा राखिन्छ भन्ने ठोकुवा छ गुरागाइँको । ‘राजनीतिक दलसँगको आस्थाका आधारमामा भागबन्डा गरेर राखिएका निर्णायकले कविता छानेर निर्णय गर्नु भनेको राजनीतिक भाग बन्डाका आधारमा विजेता उपविजेता छुट्याउने हो । इतिहासदेखि अहिलेसम्म भएको पनि यही नै हो,’ उनी भन्छन्, ‘त्यसैले यस्ता प्रतियोगिता पारदर्शी छैनन् । राजनीतिक आस्थाका आधारमा कविता लेखिनु भनेको सत्ताको भजन गाउनु मात्रै हो ।’

प्रज्ञाको महोत्सव नयाँ स्रष्टाका लागि मञ्च बन्न सकेको छैन । पछिल्लो पटक प्रज्ञाले निकालेको कविता सङ्ग्रहमा ३० वर्ष अघिदेखिका पुरस्कृत कविता समेटिएको छ । ती नाम हेर्दा प्रतियोगितामा सहभागी अधिकांश कवि कहाँ छन् भन्ने नाम निशानासम्म छैन । यी नामहरू अकस्मात् आए र हराएर गए । केही कवि मात्रै टिकेर कविता लेख्न सकेका छन् ।

समिक्षक बानियाँ भन्छन्, ‘अझ एकै व्यक्तिले पटक पटक भाग लिएको देखिन्छ । सर्जक उदार भावनाको हुनुपर्नेमा निरन्तरको सहभागिताले सर्जकमा भएको पुरस्कारको लोभ र सरकारले देखाएको लोभ (घाँस) हो । एकै व्यक्ति एक वर्ष तृतीय हुन्छ, अर्को वर्ष दृतिय अनि पुनः तृतीय पनि र प्रथम । यसो गर्नु भनेको सरकार सत्ताले रचना सिर्जना माथि गरेको अपमान हो । सर्जक त्यही घाँसमा अल्झिएर राजनीतिक भागबन्डा हुने ठाउँमा लोभिएर पटक पटक जानु पनि गलत काम हो ।’

तर, प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य शशि लुमुम्बुलाई भने महोत्सवमा विजयी कवितालाई लिएर विवाद गर्नुपर्छ भन्ने लाग्दैन । अहिले भइरहेका विरोधलाई समेत उनले विरोधका लागि गरिएको विरोधमात्र भन्छन् । ‘कुनै पनि कवितामा सरकारको भक्ति छैन । राष्ट्र र राष्ट्रियताका लागि कविहरूले कवितामार्फत बोलेका छन् । नकारात्मक चिन्तन गरिरहनेहरूलाई सकारात्मक चिन्तनबाट आएका सिर्जनाले पोल्नु स्वाभाविक हो । सरकारको भक्ति गाइयो, पार्टी निकट भएकैले विजयी बनाइयो तथा निर्णायक मण्डलमा पार्टी निकट व्यक्ति राखियो भन्ने सबै कुराहरू विरोधको लागि विरोध र आलोचना गर्ने बाटो मात्रै हुन् ।’ उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *