बिरामीबाट बढी शुल्क नलिएको सर्वाङ्ग अस्पतालको दाबी

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको सर्वाङ्ग अस्पताल (सर्वाङ्ग स्वास्थ्य सदन प्रालि) ले बिरामीलाई धेरै दिन अस्पतालमा राखेर बढी रकम नलिएको दाबी गरेको छ । अस्पतालले कोरोना संक्रमित बिरामी इन्दर सिंह सुडानलाई १८ दिन अस्पतालमा राखी साढे १० लाख रुपैयाँ असुलेको समाचार गलत भएको दाबीसहित खण्डन गरेको हो ।
आफूलाई ‘अस्पतालको प्रशासनमा कार्यरत व्यक्ति’ भनेर चिनाएका सुशिल खनालले मकालुखबरलाई इमेलमा पठाएको पत्रमा ईन्दर सिंह सुडान भन्ने ईन्द्रजित सिंह कोभिड संक्रमित भएर गएको वैशाख २७ गते सर्वाङ्ग अस्पतालमा भर्ना भएका र १८-२० दिनपछि निको भई बेडमा सार्ने बेलामा कीर्तिपुर अस्पताल रिफर भएको दाबी गरेका छन् ।
अस्पतालमा आईसीयू र भेन्टिलेटरलगायतको अभाव भएपनि आफूले चिनेका दुईजना व्यक्तिको आग्रहमा उनलाई आईसीयू र भेन्टिलेटर उपलब्ध गराइएको पनि उनले उल्लेख गरेका छन् । खनालले पठाएको पत्रमा सिंहलाई उपचारका लागि अस्पतालमा भर्ना हुँदा डिपोजिट गर्नुपर्ने आवश्यक रकमसमेत नलिई भर्ना गरिएको, डिस्चार्ज हुँदा शुल्क नगदै दिनुपर्नेमा चेक पनि स्वीकार गरिएको र उनका आफन्तले भारतमा मेडिकल इन्स्योरेन्स दाबी गर्न अस्पतालमा नतिरेको रकमको पनि बिल बनाउन लगाएको लागयत दाबी गर्दै आफूलाई सिंह पक्षबाट रकम माग्ने, ब्ल्याकमेल गर्ने र धम्क्याउने काम गरेको दाबीसहित आफूले पनि प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ ।
तर, मकालुखबरलाई सिंहको परिवारले आफू निको भइसक्दा पनि अस्पतालले घर जान पटकपटक अनुरोध गर्दा पनि नमानेका कारण शंका लागेपछि अर्को अस्पताल जाने बताएका थिए । त्यसपछि अस्पतालले १२ लाख ८६ हजार ५२० रुपैयाँको बिल दिएको र यति धेरै रकम कसरी भयो भनेर यसबारेमा प्रहरीलाई उजुरी गर्ने बताएपछि त्यो रकममा २ लाख ५० हजार ५२० रुपैयाँ छुट दिएको भन्दै अर्को बिल दिएको र लगभग साढे १० लाख रुपैयाँ बुझाएको, र त्यहाँबाट कीर्तिपुर अस्पताल गई परीक्षण गराउँदा बिरामीको सबै अवस्था सामान्य रहेको भन्दै घर पठाइदिएको दाबी गरेको छ ।
अस्पतालले सिंहको परिवारलाई एकै मितिमा दिएका दुई फरक फरक बिलसहित परिवारले बुझाएको चेकको फोटो र प्रहरीमा गरेको उजुरीको प्रतिलिपी संलग्न गरी हामीले सर्वाङ्ग अस्पतालविरुद्ध उजुरी परेको समाचार प्रकाशित गरेका हौँ । –सम्पादक
हेर्नुहोस् समाचार:









