जर्मनीलाई ५५ वर्षपछि हराउने प्रतीक्षामा इंग्ल्यान्ड तर तथ्याङ्कमा जर्मनी अघि

काठमाडौं । घरेलु मैदान वेम्बलीमा इंग्ल्यान्ड १९६० पछि पहिलो पटक कुनै ठुलो प्रतियोगिता (युरो/विश्वकप) को नकआउट चरणमा जर्मनीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको छ । ५५ वर्षअघि विश्वकपको फाइनलमा जर्मनीलाई हराएर उपाधि उचालेको इंग्ल्यान्ड मंगलबार राति वेम्बलीमा सोही नतिजाको प्रतीक्षामा हुनेछ ।

करिब ४० हजार दर्शकमाझ हुने यो बहुप्रतिक्षित खेलका बारे इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट भन्छन्‚ ‘यो साँच्चै नै अविश्वसनीय क्षण हो ।’ तर थ्री लायन्स टोली इंग्ल्यान्डलाई सहज भने छैन । इंग्ल्यान्ड केवल एकपटक मात्रै युरोको नकआउटबाट अघि बढ्न सकेको छ । मुख्य प्रतियोगितामा भएका पाँचमध्ये एक खेलमा मात्र इंग्ल्यान्ड विजयी भएको छ ।

१९९६ मा स्पेनलाई पेनाल्टीमा हराउँदै अघि बढेको इंग्ल्यान्ड सेमिफाइनलमा जर्मनीसँग पेनाल्टीमै पराजित भएको थियो । घरेलु मैदानमा इंग्ल्यान्डले भोगेको त्यो ठुलो हार थियो । साउथगेट भन्छन्‚ ‘हामी विगतका कुरा बोक्न चाँहदैनौँ‚ किनभने अहिले नयाँ पुस्ता छ र नयाँ इतिहास निर्माणका लागि अघि बढ्नेछ ।’ उनले त्यसबेला अहिलेको पुस्ताका धेरैजसो मानिस नजन्मिएको भन्दै इंग्ल्यान्ड जर्मनीलाई हराउन सक्षम रहेको बताउँछन् । उनी भन्छन्‚ ‘यो क्वाटरफाइनल पुग्नेमात्र होइन‚ नयाँ इतिहास बनाउन पनि साँच्चै राम्रो अवसर हो । तर यो खेल हो‚ यसको छिनोफानो केवल मैदानबाट मात्रै गर्न सकिन्छ।’

England vs Germany Euro 2020 Match Offers Redemption Chance | Time

के भन्छन् जर्मन प्रशिक्षक ?

जर्मनीका प्रशिक्षक जोचिम लोले इंग्ल्यान्डसँगको खेलमा समूहचरणको गल्ति दोहोर्‍याउन नहुने बताएका छन् । इंग्ल्यान्ड बलियो र संगठित टीम भएकाले समूहचरणको जस्तो गल्ति दोहोर्‍याए जर्मन टीमलाई मंहगो पर्ने उनले बताए । समूह चरणमा हंगेरीसँगको प्रदर्शन खराब भएको भन्दै प्रशिक्षक लोले इंग्ल्यान्डसँगको खेलमा आफ्नो बलियो लय कायम राख्ने चुनौती टीमसामू रहेको समेत बताए । उनले पोर्चुगलसँगको खेलमा जस्तै इंग्ल्यान्डसँग पनि खेलाडीले आफ्नो क्षमता देखाउने र जर्मनीको लय कायम राख्ने विश्वास व्यक्त गरे ।

मुख्य प्रतियोगितामा इंग्ल्यान्डजर्मनी

१९६६ विश्वकप फाइनल ४-२ ले इंग्ल्याड विजयी

१९७० विश्वकप क्वाटरफाइनल  ३-२ ले जर्मनी विजयी

१९९० विश्वकप सेमीफाइनल १-१ (४-३ पेनाल्टी)जर्मनी विजयी

१९९६ युरो सेमीफाइनल १-१ (६-५ पेनाल्टी) जर्मनी विजयी

२०१० विश्वकप नकआउटचरण ४-१ जर्मनी विजयी

तथ्य तथ्याङ्क

इंग्ल्यान्ड र जर्मनीबीच युरोपियन च्याम्पियनसिपमा यो तेस्रो भेट हो । सन् १९९६ को सेमिफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित भएको इंग्ल्यान्ड सन् २००० मा समूहचरणमा १-० को जित निकाल्न सफल भएको थियो ।

वेम्बलीमा इंग्ल्यान्ड र जर्मनीबीच यो १३औं भेट हो । जसमा इंग्ल्यान्डले १९६६ को विश्वकपसहित चार खेलमा मात्र जित निकालेको छ भने पछिल्ला ७ खेलमा जितविहीन छ ।

वेम्बलीमा इंग्ल्यान्डको यो ३००औँ खेल हो । यसमध्ये अहिलेसम्म १८७ खेलमा इंग्ल्यान्ड विजयी भएको छ । जसमा युरो र विश्वकपका १४ खेलमा इंग्ल्यान्ड अपराजित छ ।

इंग्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा ९० मिनेटभित्र एउटा पनि खेल जित्न सकेको छैन । ४ खेलको नतिजा पेनाल्टीमार्फत आएको छ । जसमा इंग्ल्यान्डले केवल स्पेनसँग (युरो १९९६ मा) मात्र जित हात पारेको छ ।

जर्मनी पछिल्ला तीन युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ । १९९६ यता मात्रै जर्मनी चारपटक प्रतियोगिताको नकआउटचरणमा पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *